प्रचण्डको वाचा-‘फेसलेस, पेपरलेस र क्यासलेस’ प्रशासन बनाउँछौँ
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नयाँ नेपाल’ निर्माणका लागि दृढ संकल्पका साथ अघि बढ्ने बताएका छन्।
मंगलवार पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उनले विगतमा राजनीतिक दलहरूबाट भएका कमी–कमजोरीको समीक्षा गर्दै अब ‘नयाँ नेपाल’ निर्माणमा अघि बढ्ने बताए।
उनले नेपालको प्रशासन ‘फेसलेस, पेपरलेस र क्यासलेस’ बनाउने वाचा गरेका छन्। साथै उनले ५ वर्षभित्र २५ प्रतिशत नयाँ र सक्षम जनशक्ति भित्र्याउने लक्ष्य लिइएको बताए।
उनले राजनीतिक व्यवस्था बदलिए पनि जनताको जीवनस्तर नबदलिएको स्वीकार गरे। २६ वटा वामपन्थी र समाजवादी घटकहरू मिलेर बनेको नयाँ शक्तिले निर्वाचनका लागि आफूलाई तयार पारेको उनको भनाइ छ। उनले विगतका सरकारहरू उदार पुँजीवादकै वरिपरि अल्झिएको टिप्पणी गर्दै अब ‘नेपाली विशेषताको समाजवाद’ को बाटो तय गरिने स्पष्ट पारे।
प्रतिबद्धता पत्रमा सुशासनलाई मुख्य प्राथमिकता दिँदै सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न ‘उच्चस्तरीय स्वतन्त्र सम्पत्ति छानबिन आयोग’ र भ्रष्टाचार नियन्त्रणका लागि ‘शक्तिशाली लोकपाल’ गठन गर्ने प्रस्ताव गरिएको छ। जेनजी आन्दोलनले उठाएका प्रश्नलाई सम्बोधन गर्दै संविधान पुनरवलोकन र परिमार्जन गरिने बताए।
शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आवश्यक सुधार गरी राष्ट्रिय स्वाधीनता र जनताको आत्मसम्मानलाई केन्द्रमा राख्ने पार्टीको मुख्य एजेण्डा रहेको उनको भनाइ छ।
प्रचण्डले भने‚नेपाललाई नयाँ बनाएरै छाड्ने संकल्प यो प्रतिबद्धता पत्रमा व्यक्त भएको छ। मैले भन्ने गर्या छु- सबैभन्दा नयाँ पार्टी नेपाली कम्युनिस्ट पार्टी हो। प्रशासनलाई फेसलेस, पेपरलेस र क्यासलेस’ बनाइनेछ।
आर्थिक रूपान्तरणका लागि आगामी पाँच वर्षभित्र १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने र बहुआयामिक गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्य राखिएको उनले बताए। वार्षिक १ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र १० हजार मेगावाट थप विद्युत् उत्पादन गर्ने उनको दावी छ।
