टी-२० विश्वकपप्रति दर्शकको चासो बढ्यो, नेपालबाट सबैभन्दा बढि वृद्धि

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ प्रति विश्वभरका क्रिकेट समर्थकले ठुलो साथ दिएका छन्। भारत र श्रीलङ्कामा सम्पन्न पहिलो छ खेल अत्यन्त रोमाञ्चक बनेका छन् भने रङ्गशालामा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ। यससँगै डिजिटल माध्यममा पनि अभूतपूर्व संलग्नता वृद्धि भएको आईसीसीले जनाएको छ।

प्रतियोगिताको पहिलो दुई दिनलाई सन् २०२४ को संस्करणसँग तुलना गर्दा आईसीसीका डिजिटल प्लेटफर्महरूमा ५३ प्रतिशतले वृद्धि देखिएको छ। सबै प्लेटफर्ममा गरी ६४७ मिलियन भिडियो भ्युज पुगेका छन्। आईसीसी एप प्रयोगकर्तामा ८३ प्रतिशतको वृद्धि भएको छ भने वेबसाइट प्रयोगकर्तामा १६ प्रतिशतले बढोत्तरी भएको छ।

विशेषगरी फुल मेम्बर देशबाहिरका समर्थकबाट उल्लेखनीय वृद्धि देखिएको छ। समूह ‘सी’ मा आइतबार इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेको नेपाल डिजिटल वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ। नेपालबाट आईसीसी प्लेटफर्म प्रयोगकर्ता ४४२ प्रतिशतले बढेका छन्, जुन आश्चर्यजनक वृद्धि हो। त्यस्तै,यूएईबाट १९६ प्रतिशत र अमेरिकाबाट ४९ प्रतिशतले प्रयोगकर्ता बढेका छन्, जसले क्रिकेटको विश्वव्यापी विस्तारलाई संकेत गर्छ।

मैदानतर्फ पनि उत्साहजनक उपस्थिति देखिएको छ। मुम्बईको वानखेडे रङ्गशालामा भारतले अमेरिकालाई पराजित गरेको खेलमा सबैभन्दा बढी २४ हजार ९९७ दर्शक उपस्थित थिए। अन्य पाँचमध्ये चार खेलमा १५ हजारभन्दा बढी दर्शक रङ्गशालामा पुगेका थिए। २० टोली सहभागी प्रतियोगिताको समूह चरणका खेलहरू आठ वटा रङ्गशालामा भइरहेका छन्। टिकट मूल्य निर्धारण रणनीति र खेल तालिका समयमै सार्वजनिक गरिएकाले दर्शक उपस्थिति उत्साहजनक बनेको आईसीसीले जनाएको छ।

उद्घाटन सप्ताहन्तमा मात्र कुल एक लाख ७ हजार ७८१ दर्शकले प्रत्यक्ष खेल अवलोकन गरेका छन्।

स्ट्रिमिङतर्फ पनि उल्लेख्य वृद्धि देखिएको छ। आइसीसीको टिभीमा कुल भ्युज २९६ प्रतिशतले बढेका छन् भने युनिक प्रयोगकर्तामा १९२ प्रतिशत वृद्धि भएको छ। जापान,जर्मनी,दक्षिण कोरिया,फ्रान्स,मलेसिया,इटाली र नेदरल्यान्ड्स जस्ता परम्परागत क्रिकेटबाहेकका देशबाट आएको भ्युज अहिले आइसीसी टिभीको कुल भ्युजको एक चौथाइभन्दा बढी हिस्सा ओगट्न थालेको छ।

पहिलो पटक आइसीसी टिभीमा गैर अंग्रेजी कमेन्ट्री सुरु गरिनु यस वृद्धिको प्रमुख कारण मानिएको छ। इंग्ल्यान्ड-नेपाल खेलमा नेपाली भाषाको कमेन्ट्री र भारत-अमेरिका खेलमा हिन्दी कमेन्ट्री सबैभन्दा बढी हेरिएका स्ट्रिम बनेका छन्। यसले क्रिकेटलाई अझ समावेशी र पहुँचयोग्य बनाएको आईसीसीले जनाएको छ।