बदलिँदो सुरक्षा चुनौती सामना गर्न समय सापेक्ष परिमार्जन हुनुपर्छ: प्रहरी महानिरीक्षक
काठमाडौं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दक्ष प्रहरी जनशक्ति उत्पादनमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले दक्ष प्रहरी जनशक्ति उत्पादनमा प्रतिष्ठानले खेलेको भूमिका सराहनीय छ भने।
उनले नेपाल प्रहरीले विभिन्न कालखण्डमा सामना गरेका सुरक्षा चुनौती,राजनीतिक परिवर्तन,सामाजिक रूपान्तरण र प्रशासनिक सुधारका हरेक चरणमा प्रतिष्ठानले समयानुकूल दक्ष, सक्षम, गुणस्तरीय तथा अनुशासित जनशक्ति उत्पादनमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनको आधारशीला भनेकै अनुशासन र तालिम रहेको र त्यो आधारशिलालाई मजबुत बनाउन प्रतिष्ठानले विगत सात दशकदेखि दिँदै आएको योगदान स्मरणीय रहेको बताए।
उनले बदलिँदो सुरक्षा चुनौती, प्रविधिको तीव्र विकासलगायतमा आएको परिवर्तन र अपराधका नयाँ–नयाँ स्वरूपलाई मध्यनजर गर्दै प्रतिष्ठानले तालिम प्रणाली र तालिम प्रदान गर्ने शैलीमा गर्दै आएको समय सापेक्ष परिमार्जनको प्रयास सराहनीय रहेको बताए।
