हंगेरी पठाइदिने प्रलोभनमा ३ लाख ठगी गर्ने तामाङ पक्राउ
काठमाडौं। वैदेशिक रोजगारीका लागि हंगेरी पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा कालिन्चोक गाउँपालिका–४ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ बस्दै आएका ५६ वर्षीय महेश तामाङ रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङले आकर्षक तलबको प्रलोभन देखाई एक जना पीडितबाट ३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो। सोही उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट शुक्रबार पक्राउ गरेको हो।
प्रहरीले प्रारम्भिक अनुसन्धानपछि तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको जनाएको छ।
वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनामा सतर्क रहन तथा आधिकारिक निकायमार्फत मात्र प्रक्रिया अघि बढाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
