माझी गाउँका सबै स्थानीय नेकपामा प्रवेश
मकवानपुर। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट बिजय गौतम उम्मेदवार रहेको प्रतिनिधि सभा मकवानपुर क्षेत्र नम्बर-१ अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर-४ जुरेली (माझी गाउँ) का सम्पूर्ण स्थानीय एकैसाथ नेकपामा प्रवेश गरेका छन्।
पूरै माझी गाउँ नै संगठित रूपमा नेकपामा प्रवेश गर्दै ‘आफ्नै गाउँका युवा उम्मेदवार बिजय गौतमलाई जिताउने’ सामूहिक प्रतिबद्धता व्यक्त गरेको हो। गाउँ नै एकैसाथ पार्टीमा प्रवेश गरेपछि यस घटनालाई जिल्लाकै ठूलो राजनीतिक झट्का तथा ‘राजनीतिक भूकम्प’ का रूपमा हेरिएको छ।
स्थानीय राजनीतिक वृत्तमा यस प्रवेशले उम्मेदवार गौतमको जिततर्फको यात्रालाई थप बलियो बनाएको चर्चा छ। कार्यक्रममा बोल्दै गौतमले भावुक तर दृढ स्वरमा आफू पहिलोपटक चुनावी मैदानमा आएको र राम्रो काम गर्ने प्रतिबद्धताका साथ अघि बढेको बताए।
“म पहिलोपटक आएको हुँ, राम्रो गर्न आएको हुँ। तपाईंहरूले दिनुभएको भरोसा मन, वचन र कर्मले टुट्न दिने छैन। जति काम गर्छु, शिर उचो हुने गरी गर्छु । तपाईंहरूबाट टाढाको होइन, फोन गर्दा भेटिने, ढोका ढकढक गर्दा निस्किने प्रतिनिधि बनेर काम गर्छु,उनले भने।
उनले आफ्नो पुस्ता जसोतसो गुज्रिए पनि अर्को पुस्ता पासपोर्ट च्यापेर विदेश जान बाध्य नहोस् भन्ने आफ्नो राजनीतिक लडाइँ रहेको स्पष्ट पारे।हाम्रो पुस्ता त जसोतसो गुज्रियो, तर हाम्रो अर्को पुस्ता पासपोर्ट च्यापेर विदेश जान बाध्य नहोस् भन्ने मेरो लडाइँ हो। व्यवस्था बद्लियो, अब हाम्रो आँगन, हाम्रो बस्ती, हाम्रो जीवन बदलिनुपर्छ,गौतमले भने।
गौतमले शिक्षा, रोजगारी, ढल-शौचालय, खेलमैदान, बाढी-पहिरो नियन्त्रणलगायत स्थानीय आवश्यकतालाई केन्द्रसम्म पुर्याउने ‘भरिया’ बनेर काम गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र समूहबाट समेत करिब सयको संख्यामा नेता-कार्यकर्ता नेकपामा प्रवेश गरेका जनाइएको छ । यस घटनापछि मकवानपुर-१ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने विश्लेषण गरिएको छ।
