ड्युटीमै बिरामी परेका प्रहरी जवान गणेश जोशीको उपचारकै क्रममा मृत्यु
काठमाडौं। सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गोदावरी नगरपालिका–अत्तरियामा रहेको अत्तरिया अस्पतालमा उपचारकाे क्रममा एक प्रहरी जवानको मृत्यु भएको छ।
मृत्यु हुनेमा कञ्चनपुरको वडा प्रहरी कार्यालय महेन्द्रनगरमा दरबन्दी भई हाल डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशी रहेका छन्। उनको आज बिहान उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
डडेल्धुराको जोगबुडा घर भएका जोशी यही महिनाको २७ गते राति प्रहरी चौकीअगाडि रहेको इन्ट्री पोस्टमा ड्युटीमा रहेका बेला अचानक पेट दुखेपछि उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि अत्तरियास्थित अत्तरिया अस्पताल रेफर गरिएको थियो।
उपचाररत अवस्थामै आज बिहान उनको मृत्यु भएको हो। मृत्युको यकिन कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।
उनको शवको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम सम्पन्न भइसकेको छ। पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइएको छ भने रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
