मतदाता शिक्षाले बदर मतको प्रतिशत घट्ने आयोगको अपेक्षा

काठमाडौँ । निर्वाचन आयोग नेपालले देशभर आजदेखि शुरू भएको मतदाता शिक्षाले बदर मतको प्रतिशत घटाउने अपेक्षा व्यक्त गरेको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार यस पटक डिजिटल माध्यममार्फत मतदाता शिक्षा अझ प्रभावकारी बनाइएको छ।

अघिल्ला तीन निर्वाचनमा बदर मतको प्रतिशत क्रमशः बढ्दै गएको छ। २०७९ सालमा ५.१९ प्रतिशत, २०७४ सालमा ५.१६ प्रतिशत र २०७० सालमा ४.९६ प्रतिशत मत बदर भएको थियो। २०४८ सालयताका चुनावमा सबैभन्दा कम बदर मत २०५६ सालमा २.७५ प्रतिशत मात्रै रेकर्ड गरिएको थियो।

घिमिरेका अनुसार औसतमा लगभग ६५ प्रतिशत मत प्रयोग हुने र करिब ५ प्रतिशत मत बदर हुने गर्छ। क्षेत्रगत दृष्टिले हेर्दा बाँके, रोल्पा, सल्यान र जाजरकोटमा ७–९ प्रतिशतसम्म मत बदर भएको छ भने मनाङ, मुस्ताङ, हुम्ला र भक्तपुरमा सबैभन्दा कम बदर भएको देखिन्छ। छाप ठीक ठाउँमा नपर्नु, दुईतिर पर्ने वा लतरपतर हुने समस्याले पनि मत बदर हुने प्रमुख कारण बनेको छ।

आयोगले आजदेखि देशभरका ६,७४३ वटै वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको छ। आउँदो १७ फागुनसम्म चल्ने कार्यक्रममा सकेसम्म हरेक मतदाताको घरमा पुग्ने र सामुदायिक विद्यालयमार्फत विद्यार्थीहरूलाई पनि शिक्षा दिइने आयोगले जनाएको छ।