एमाले गरिब र मजदुरको पक्षमा छ: ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सधैँ गरिब, विपन्न र मजदुर वर्गको हितमा उभिएको दाबी गरेका छन्। झापाको दमकमा आयोजित सिटी रिक्सा चालकहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा भोकमरीको स्थिति लगभग अन्त्य भएको र अबको लक्ष्य पूर्ण रूपमा गरिबी निवारण रहेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको मुख्य प्राथमिकतामा विपन्न, सुकुम्वासी र सानो व्यवसाय गर्ने मजदुरहरू रहेको उल्लेख गरे । उनले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारी नीतिकै कारण देशमा भोकमरीको अन्त्य भएको दाबी गरे।

गरिबी अझै पनि चुनौतीको रूपमा रहेको स्वीकार गर्दै उनले विभिन्न उपाय र कार्यक्रमहरूमार्फत यसलाई जरैदेखि उखेल्ने प्रतिबद्धता व्यक्त गरे। ओलीले आफ्नो कार्यकालमा सुरु गरिएका स्वास्थ्य बीमा जस्ता सामाजिक सुरक्षाका कार्यक्रमहरूको महत्वमाथि प्रकाश पारे।

३५ सय रुपैयाँमा १ लाखसम्मको उपचार पाउने व्यवस्था जनताकै करबाट सम्भव भएको बताउँदै उनले सरकारले जनताबाटै स्रोत संकलन गरेर जनताकै हितमा खर्च गर्ने स्पष्ट पारे। उनले विकासको अनुभुति गर्ने र गराउने काममा एमाले नेतृत्वको सरकार सफल भएको दाबी गरे।

उनले भने, ‘खासगरी विपन्न, गरिब वर्गका साथीभाइहरू, सानो व्यवसाय, सानो आर्जन हुने व्यवसाय सञ्चालन गर्ने साथीहरू, अथवा सुकुम्वासी, गरिबहरूको सम्बन्धमा हाम्रो पार्टीले सबभन्दा बढी ध्यान दिन्छ। हाम्रो नीति कोही पनि भोकै हुनुहुँदैन, कोही पनि गरिब हुनुहुँदैन भन्ने हो।

हामीले झन्डैझन्डै भोकमरीको स्थिति अन्त्य गरेका छौँ। अहिले भोकमरी भन्ने त्यस्तो छैन, किनभने मान्छे खानै नपाएर मर्ने खालको अवस्था अहिले नेपालमा छैन, त्यो लगभग अन्त्य गरेका छौँ । गरिबी छ, फेरि पनि । गरिबी छ, त्यो गरिबी अन्त्य गर्न हामी लागिराखेका छौँ।

आसन्न निर्वाचनप्रति लक्षित गर्दै उनले मजदुरका समस्या समाधानका लागि निर्वाचन पछि थप ठोस कदम चालिने बताए । सिटी रिक्सा चालकहरूका समस्या आफूसम्म आइपुगेको र त्यसलाई लिपिवद्ध गरेर दिन आग्रह गर्दै ओलीले निर्वाचनको नतिजा लगत्तै ती समस्याहरूको समाधान खोजिने आश्वासन दिए । उनले एमालेको चुनावी चिह्न ‘सूर्य’ मा मतदान गरेर एमालेलाई जिताउन आग्रह समेत गरे।