सहकारीका बचतकर्ताको रकम १०० दिनभित्रै फिर्ता गराइदिने रास्वपाको बाचा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचनपछि आफ्नो नेतृत्वमा सरकार बने १०० दिनभित्रै सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गराइदिने प्रतिबद्धता जनाएको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि बिहीबार सार्वजनिक गरिएको ‘बाचापत्र’ अन्तर्गत ३१ औँ नम्बरको बाचामा रास्वपाले सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताको बचत खातामा फिर्ता गरिने उल्लेख छ।
रास्वपाले सञ्चालकहरूलाई जेल हाल्नुमात्र नभएर बचतकर्ताको पैसा फिर्ता गराउनु पार्टीको उद्देश्य भएको पनि बताएको छ । व्यक्तिलाई थुनेर भन्दा पनि नीतिअनुसार सहकारी वित्तीय संस्थाका सञ्चालक बचतकर्ताको रकम फिर्ता गर्न तयार भए मिलापत्रका लागि कानूनी बाटो प्रशस्त गरिने पनि बाचापत्रमा जनाइएको छ।
बचत फिर्ताको पूर्ण ग्यारेन्टी र समय सीमा तोकेर उनीहरूलाई थुना बाहिरै रहेर सम्पत्ति परिचालन र ऋण असुली गर्ने अवसर दिनेसमेत रास्वपालेजनाएको छ।
