निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन सबैको सहयोग आवश्यक:भण्डारी

मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्ध आयोगलाई सरोकार भएका सबैबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

निर्वाचन आयोग र नेपाल कानून समाजद्वारा आज विराटनगरमा आयोजित ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा कार्यवाहक आयुक्त भण्डारीले बढीभन्दा बढी जनताको सहभागितासहित निर्वाचनलाई ऐतिहासिक एवं उत्सवमय बनाउने कार्यमा सम्बद्ध सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

उनले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने जोकोही कारबाहीको भागिदार हुने स्पष्ट गर्दै विधि र प्रक्रियालाई पालना गरी संयमित भएर निर्वाचन प्रक्रियामा सरिक हुन सबैसँग अनुरोध गरे।

कार्यवाहक आयुक्त भण्डारीले निर्वाचन प्रचारप्रसारलगायत गतिविधिमा भारतीय नम्बर प्लेटको सवारीसाधनको प्रयोग निषेध गरिएको जानकारी दिँदै त्यसतर्फ सचेत रहन राजनीतिक पार्टी तथा उम्मेदवारको ध्यानाकर्षण गरे।

उनले सरकारले मितव्ययी भई यथासक्य कम खर्चमा निर्वाचन सम्पन्न गर्न लागेको भन्दैतोकिएको सीमाभित्र रही खर्च व्यवस्थापन गर्न उम्मेदवारसँग आग्रह गरे।