भोट हाल्दा हजारचोटि सोच्नुस्: राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मतदाताहरूलाई आफ्नो भोटको शक्ति बुझ्न र मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गरेका छन्।

बुटवलमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै लिङदेनले विगतमा मतदाताहरू झुटो आश्वासन, केही लिटर पेट्रोल, केही सय रुपैयाँ, वा माछामासु र मादकपदार्थको प्रलोभनमा परेर मतदान गर्दै आएको टिप्पणी गर्दै भोट भनेको शक्ति भएको र यसलाई हस्तान्तरण गर्दा हजारचोटी विचार गर्नुपर्ने बताएका हुन्।

सत्तामा बस्ने नेताहरूले नयाँ समझदारी नगरे र आफ्ना गल्ती नसच्याए देश दुर्घटनामा जाने लिङदेनको चेतावनी छ। राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ समझदारीको आवश्यकता औंल्याउँदै निषेधको राजनीति अन्त्य गरी देशले जित्ने वातावरण बनाउनुपर्ने उनको तर्क छ।

लिङ्देनले राप्रपालाई संसदमा बलियो शक्तिको रूपमा पु¥याउन मतदातासँग सहयोग मागे । राप्रपासँग देश बनाउने स्पष्ट योजना रहेको दाबी गर्दै लिङदेनले भ्रष्टाचारमुक्त ढंगले काम गरे ५–६ वर्षभित्रै देशको मुहार फेरिने बताए। अध्यक्ष लिङदेनले आफ्नो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार काण्डको छानविनमा आफ्नो भुमिका रहेको स्मरण गराए।