दोलखामा रास्वापालाई झट्का, हरि चौलागाईंले पार्टी त्यागे

काठमाडौं। दोलखाको राजनीतिमा फेरि अर्को ठूलो झट्का लागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापादोलखाका प्रभावशाली नेता तथा बागमती प्रदेश समिति सदस्य हरि चौलागाईं ले पार्टी परित्याग गरेका छन्।

संघीय निर्वाचन परिचालन समिति सदस्यसमेत रहेका चौलागाईंको यो कदमले जिल्लामा रास्वापाको संगठनात्मक अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

लामो समयदेखि पार्टीको संगठन विस्तार र निर्वाचन परिचालनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका चौलागाईंले रास्वापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको बताएका छन्।

उनले जनताको प्रत्यक्ष सुख–दुःखमा जोडिने, विकास र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्ने स्पष्ट कार्यदिशा आवश्यक रहेको समेत उल्लेख गरेका छन्।

चौलागाईंको बहिर्गमनलाई दोलखामा रास्वापाका लागि ठूलो धक्का मानिएको छ। उनी प्रदेश तहदेखि जिल्ला तहसम्म प्रभाव राख्ने नेताका रूपमा चिनिन्थे।