होली सुरु: हनुमानढोकामा तीनतले चीर ठड्याइयो
काठमाडौं। काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएसँगै होली सुरु भएको छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ मङ्गलवार (आज) तीनतले चीर ठड्याएपछि देशभर फागु (होली)पर्व सुरु भएको मान्ने गरिन्छ।
शुभ साईतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका हुन्। आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ।
असत्यमाथि सत्यको जितको रूपमा चीर ठड्याइएको स्थानीहरू बताउँछन्। यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८ र १९ गते परेको छ। १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ।
