चुनावको मुखमा कांग्रेस प्रवेशको लहर: रास्वपा र एमालेलाई ठूलो धक्का
काठमाडौं। २१ फागुनमा हुने निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसमा अन्य दलका प्रभावशाली नेताहरूको प्रवेश गर्ने क्रम तीव्र बनेको छ। ‘जेन–जी’ आन्दोलन र विशेष महाधिवेशनमार्फत गगन थापा पार्टी सभापति चुनिएपछि कांग्रेसप्रति आकर्षण बढेको भन्दै विभिन्न दलका ६ हजारभन्दा बढी नेता–कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार थापाको नेतृत्वपछि पार्टीमा नयाँ ऊर्जा देखिएको छ। रास्वपा,नेकपा एमाले र जसपा लगायतका दलबाट ६२ सय जति नेताहरूले सदस्यता लिएका छन्, जसमा १०० भन्दा बढी केन्द्रीय स्तरकै नेताहरू रहेका छन्।
कांग्रेस प्रवेश गर्नेहरूमा सबैभन्दा ठुलो संख्या राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेताहरूको छ । रास्वपा मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली सोमबार मात्रै कांग्रेस फर्किएका छन्।
२०७९ को निर्वाचनमा १२ हजारभन्दा बढी मत ल्याएका पराजुलीले रास्वपालाई ‘खहरे खोला’ र ‘सैनिक शासन’ को ढाँचामा चल्ने पार्टीको संज्ञा दिँदै गगन थापाको नेतृत्व र साहसलाई आत्मसात् गर्न कांग्रेस फर्किएको बताएका छन्।
त्यस्तै पराजुलीसँगै मकवानपुर–२ का संघीय सभापति निराजन बर्तौला र युवा नेता राममणि न्यौपानेले पनि रास्वपा त्यागेका छन् । त्यस्तै, रास्वपाकी मधेश प्रदेश संस्थापक सभापति ममता शर्मा र केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय शमशेर राणाले पनि पार्टीको विधि र विधान विपरीतका गतिविधि बढेको भन्दै कांग्रेस रोजेका छन्।
यता नेकपा एमालेबाट पनि ठूलो संख्यामा नेताहरू कांग्रेस प्रवेश गरेका छन्। पूर्वमन्त्री रामवीर मानन्धरसहित रसुवाका प्रभावशाली नेता जनार्दन ढकालले एमाले छाडेका छन्। एमालेका पूर्व केन्द्रीय सदस्य समेत रहेका ढकालले पार्टीमा व्यक्तिवाद हाबी भएको र योगदानको अवमूल्यन भएको भन्दै ७८ जना कार्यकर्तासहित कांग्रेस प्रवेश गरेका हुन्। यसले रसुवामा एमालेलाई ठुलो धक्का पुग्ने देखिएको छ।
नवप्रवेशी नेताहरूले कांग्रेसमा देखिएको पुस्तान्तरण र आन्तरिक लोकतन्त्रलाई मुख्य आकर्षणको कारण बताएका छन्। गगन थापा सभापति बनेपछि कांग्रेसले लिएको नयाँ बाटो र सुधारिएको कार्यशैलीले अन्य दलमा निराश भएका नेताहरूलाई आकर्षित गरेको देखिन्छ। निर्वाचनको मुखमा भएको यो दल अदलबदलले विशेषगरी रसुवा र मकवानपुर जस्ता जिल्लाहरूमा चुनावी समीकरणलाई निकै प्रभावित पार्ने अनुमान गरिएको छ।
