रविलाई देवराजको जवाफ-कुन नैतिकताले मत मागिरहनुभएको छ ?
काठमाडौं । नेकपा एमालेका नेता तथा निवर्तमान सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू विरुद्ध घृणा फैलाउने कार्य गरिहरेको आरोप लगाएका छन्।
झापाको बिर्तामोडमा मङ्गलवार आयोजित पार्टीको चुनावी कार्यक्रममा लामिछानेले घिमिरेलाई ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भन्दै टिप्पणी गरेका थिए।
त्यही टिप्पणीको सन्दर्भमा घिमिरेले प्रेस विज्ञप्ति जारी गरी घिमिरेले लोकतान्त्रिक अभ्यासमा चुनावी प्रतिस्पर्धालाई व्यक्तिगत आरोप र घृणाले प्रभावित पार्न खोजेको आरोप लगाएका हुन्।
उनले संसदीय अभ्यासमा प्रत्येक सदस्यलाई बोल्ने अधिकार भए पनि छलफललाई व्यवस्थित र क्रमिक रूपमा अगाडि बढाउन समय निर्धारण गरिने उल्लेख गरेका छन् । ‘माइक काट्नु वा काटिनु सभामुखको व्यक्तिगत विचारमा आधारित नभई पूर्वनिर्धारित समय र संसद्को नियमावली अनुसार हुने घिमिरेले बताएका छन् ।
निवर्तमान सभामुख घिमिरेले संसद्को कार्यप्रणालीबारे सामान्य जानकारी राख्ने व्यक्तिले यो बुझ्न सक्ने दाबी गरेका छन् । आफू संसद्को अभ्यास गरेर आएको र संसद्को वेबसाइटमा पनि उपसभामुख वा सभाको अध्यक्षता गरिरहेका अन्य माननीय सदस्यको पालामा पनि माइक काटिएको पाइएको उदाहरण उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
घिमिरेले लामिछानेलाई उल्टै सांसद पदमा बहाल रहन सक्ने कानुनी आधार नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ भनी प्रश्न गरेका छन्। झापा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका घिमिरेले यसअघि नै आफू प्रतिस्पर्धी उम्मेदवारबारे टिप्पणी नगर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्।
घिमिरेले भनेका छन्,संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यति कुरा नबुझ्ने भन्ने हुँदैन। उहाँ संसद्को अभ्यास गरेर आउनुभएको व्यक्ति हो। संसद्को वेबसाइटमा गएर हेर्न सकिन्छ-मैलेमात्र होइन उपसभामुख वा सभाको चेयर गरिरहेका अन्य माननीय भएका बेलामा पनि माइक काटिएको छ । अझ बढी काटिएको हुनुपर्दछ।
झापा २ मा एउटै कार्यकालका सभामुख, उपसभामुख र प्रतिनिधि सभा सदस्य नै उम्मेदवार रहेकाले प्रतिस्पर्धी उम्मेदवारबारे टिप्पणी नगर्ने प्रतिबद्धता यसअघि नै गरिसकेको जानकारी गराएका छन्।
उनले भनेका छन्, ‘रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु। तपाईँलाई जवाफ दिँदै म पनि भन्न सक्छु-आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानुनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ?तर म आक्षेप र आफूमाथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा छैन। आफू माथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छाना नलाउन अपिल गर्दछु।
