साम्बाको उपचारका लागि विदेशबाट जुट्यो ४२ लाख बढी

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि अहिलेसम्म विदेशबाट ४२ लाख १५ हजार ४४८ रुपैयाँ जम्मा भएको छ।

साम्बाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा भावुक स्ट्याटस लेख्दै उपचारका लागि सहयोग अपिल गरेपछि विदेशबाट ४८ हजार ६६८ न्युजिल्यान्ड डलर उठेको हो।

पछिल्लो सात हप्तादेखि घुँडामा लागेको चोटका कारण मैदान बाहिर रहेकी साम्बाले अब कतारको अस्पेटार अस्पतालमा घुँडाको शल्यक्रिया गर्ने बताएकी छन्। यसअघि पनि घुँडामा गम्भीर चोट भएपछि उनको उपाचार कतारको अस्पेटारमा नै भएको थियो।

त्यतिवेला एन्फाका तत्कालिक अध्यक्ष कर्मा छिरिङ शेर्पा नेतृत्वले कतार फुटबल संघसँग विशेष पहल गरेर उनको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो।

तर यस पटक एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले पटकपटक आश्वासन दिए पनि अन्तिममा नसक्ने बताएपछि साम्बाले सामाजिक सञ्जालमार्फत समर्थकसँग सहयोग माग्नुपर्ने अवस्थामा पुगिन्। साम्बाको उपचारका लागि नेपालबाट पनि सहयोग उठ्ने क्रम जारी छ।