निर्वाचनमा शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई मानव अधिकार आयोगको आग्रह

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनमा शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई आग्रह गरेको छ। निर्वाचनको दिन नजिकिँदै गर्दा देशका विभिन्न भागमा भइरहेका गतिविधि तथा घटनाले आसन्न निर्वाचनमा पार्न सक्ने प्रभावप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगका प्रवक्ता डा।टीकाराम पोखरेलले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन्। ‘पछिल्लोपटक दाङ लगायत विभिन्न जिल्लामा केही दलका कार्यकर्ताबीच सिर्जना भएको विवाद तथा रौतहट-पर्सा लगायत जिल्लामा विभिन्न समूह बीच भएका विवादका कारण निषेधाज्ञा समेत जारी गर्नुपर्ने अवस्था सिर्जना भएका घटनाहरूले निर्वाचनका साथै शान्ति सुरक्षामा थप चुनौती थपिएको देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

राजनीतिक दलका नेता,उम्मेदवार तथा कार्यकर्ताले एक अर्को दल, उम्मेदवार र नेताहरूप्रति व्यक्त गर्ने अमर्यादित तथा घृणायुक्त अभिव्यक्तिले निर्वाचनको वातावरणमा समेत चुनौती सिर्जना हुन सक्ने आयोगले जनाएको छ।

यसैगरी राजनीतिक दलहरू, उम्मेदवार तथा कार्यकर्ताहरूले निर्वाचन आचारसंहिता विपरीत चुनावको प्रचारप्रसार र राजनितिक गतिविधिमा बालबालिकाको प्रयोग गरेको भनेर पनि सरोकारवालाको ध्यानाकर्षण गरेको छ।