सरकारले निषेधाज्ञा र कर्फ्यू लगाएर मतदातामा त्रास फैलायो: एमाले

काठमाडौं । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कर्फ्यू लगाएर मतदातामा डर र त्रास फैलाएको आरोप लगाएको छ ।

आज पत्रकार सम्मेलन गरेर एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले सर्वसाधारणको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यू जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताएका हुन्।

निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका उनले सरकारका यस्ता कामकारबाहीले मतदाताको मनमा भय सिर्जना गरी स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरिरहेको आरोप लगाए।

शाहीले मधेश–तराइका विभिन्न जिल्लामा लगाइएको कफ्र्यु आम मतदातालाई मतदान केन्द्रसम्म पुग्न अवरोध पु¥याउने काम गरिएको भन्दै चिन्ता व्यक्त गरे ।

सरकारको यो रवैयाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने मात्र नभई लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठाएको एमालेको ठहर छ । समाजमा अनेक बहानामा निर्वाचन सार्ने भ्रामक हल्ला चलेकोप्रति ध्यानाकर्षण गराउँदै एमालेले घोषित समयमै चुनाव हुनुपर्ने अडान दोहार्याएको छ ।

एमालेले आफूलाई स्थायित्व, समृद्धि र सुशासनको विश्वसनीय आधारका रूपमा स्थापित गरिसकेको दाबी गर्दै शाहीले पार्टीले ‘भोट फर चेन्ज’ होइन, ‘भोट फर नेशन’ को नारा अघि सारेको बताए।

साथै एमालेले प्रतिनिधिसभा विघटनको प्रक्रिया संवैधानिक परीक्षणबाट प्रमाणीकरण हुनुपर्ने अडान राख्दै सर्वोच्च अदालतको आलटालप्रति पनि असन्तुष्टि जनाएको छ।