साम्बाको उपचारका लागि २४ घण्टामै उठ्यो डेढ करोड, सहयोग रोक्न अपिल
काठमाडौं। राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि २४ घण्टामै डेढ करोड भन्दा बढी रकम जुटेको छ। मंगलबार सामाजिक सञ्जालबाट उक्त रकम उठेको जानकारी दिँदै उनले आजबाटै सहयोग रकम रोकिदिन पनि आग्रह गरेकी छिन्।
सबै सहयोगीलाई धन्यवाद दिँदै उनले भनेकी छिन्,‘मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्याण्ड डलर) जम्मा भएको छ,मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ-संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ,कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ। त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु।
उनले उपचारपछि पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिने बताइन्। दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु, अझ मजबुत भएर फर्कनेछु’, उनले भनेकी छिन्,पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु, देशको लागि, तपाईंहरूको लागि, र त्यो विश्वासको लागि जसले मलाई अघि बढाएको छ,मेरो तर्फबाट “धन्यवाद” मात्र पर्याप्त हुँदैन,तपाईंहरूको यो माया र समर्थनको साँचो धन्यवाद भनेको मेरो पुनरागमन हुनेछ।
उनले हिजो घुँडाको गम्भीर चोटका कारण जटिल शल्यक्रिया गर्नुपर्ने भन्दै आर्थिक सहयोगको याचना गरेकी थिइन्। त्यसपछि यो सहयोग रकम जुटेको हो।
