फ्याक्ट्री खोल्न १० वटा नेता ढोग्नुपर्ने व्यवस्था अन्त्य गर्न चाहन्छौं: बालेन्द्र शाह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।

मंगलबार सुनसरीको इटहरीमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले रास्वपाले उद्योगमैत्री वातावरण निर्माण गर्ने बताएका हुन्। पूर्वी क्षेत्र देशकै पहिलो उद्योग–कलकारखाना स्थापना भएको बताउँदै उनले खाने तेलदेखि मरमसलासम्मका उद्योग भएपनि नयाँ उद्योगहरु भने खुल्न नसकेको बताए।

हाम्रो पूर्वलाई देखाएर पनि पैसा कमाउन सकिन्छ, यहाँ उब्जाउ गरेर पनि पैसा कमाउन सकिन्छ । किराँतहरुको आस्थाको केन्द्र मुकुलुङ, खुवालुङ जस्ता ठाउँहरुलाई ७७ वटै जिल्लाका नेपालीले आस्था राख्न पाउन्।

समस्याहरु धेरै छन्, समस्या पनि यहीँ छ,उनले भने,समस्या र समाधानलाई भेटाउने काम भएको छैन, त्यो भेटाउने काम गर्न चाहन्छ, हाम्रो पार्टीले । देशकै पहिलो उद्योग कलकारखाना भएको ठाउँ हो । यहाँनेर खानेतेलदेखि मरमसलाका फ्याक्ट्री, उद्योगहरू छन् । तर जुन बेलामा ती उद्योगहरु खुले, त्यसपछि नयाँ उद्योगहरू खुलेका छैनन्।

उनले थपे, ‘नयाँ फ्याक्ट्री खोल्नुपर्‍यो भने १० वटा नेतालाई ढोग्नुपर्छ, १० वटा कर्मचारीलाई फकाउनुपर्छ। अनि बल्ल बल्ल फ्याक्ट्री खुल्छ । त्यो फ्याक्ट्री चलाउन थालेपछि चन्दा आतंक सुरु हुन्छ, अब त्यो पर्दैन । त्यो नपर्नेपरि व्यवस्था बनाउन चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी।