साढे ११ हजार घुससहित यातायात अधिकृत र लेखापढी व्यवसायी पक्राउ

काठमाडौं। मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत अमृत भेटवालसहित दुई जना घुस रकमसहित नियन्त्रणमा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयका अनुसार सवारी सरुवा सहमति गरिदिने प्रयोजनमा सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचनाका आधारमा टोली खटिएको थियो।

त्यस क्रममा बिचौलियाको भूमिकामा रहेका लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट ११ हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा उनी र अधिकृत भेटवाल पक्राउ परेका हुन् ।

उनीहरूलाई हेटौंडा–११ स्थित यातायात व्यवस्था कार्यालयबाट तीन थान मोबाइल सेटसहित नियन्त्रणमा लिइएको हो। यसबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।