फेसबुक र टिकटक होइन, यथार्थ हेरेर भोट हाल्न लिङ्देनको आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
बिहीबार काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ को चुनावी अभियानलाई सम्बोधन गर्दै उनले फेसबुक, टिकटक र रिल्सजस्ता सामाजिक सञ्जालका सामग्रीको प्रभावमा नपर्न आग्रह गरेका हुन् ।
विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै उनले सामाजिक सञ्जालका सामग्रीको नभई वास्तविक धरातललाई हेरेर निर्णय लिन आग्रह गरे । उनले यस पटकको निर्वाचन केवल एक सांसद छान्ने वा सरकार बनाउने प्रक्रिया मात्र नभएको उल्लेख गर्दै देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको बताए।
हाल देशको अस्तित्व नै संकटमा परेको उल्लेख गर्दै उनले नेपाल प्रथम भन्ने सोचलाई केन्द्रमा राखेर प्रत्येक मतदाताले हजार पटक सोचेर मात्र मतदान गर्नुपर्नेमा जोड दिए । अध्यक्ष लिङदेनले विगतमा असफल भएका र स्पष्ट दृष्टिकोण नभएका दल तथा नेतृत्वलाई पुनः मत दिएर गल्ती दोहोर्याउने कि नगर्ने भन्ने निर्णय मतदाताकै हातमा रहेको बताए।
उनका अनुसार देशमा शान्ति, विकास र स्थिरताको लागि राप्रपा नै एकमात्र विकल्प हो । उनले राप्रपाले नयाँ र पुराना सबै राजनीतिक शक्तिहरूलाई समन्वय गरेर अघि बढाउन सक्ने दाबी गरे ।

