ओली र बालेन ‘दुवै अतिवादी’:गगन थापा

सुर्खेत । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले भदौ अन्तिम साताको जेन–जी आन्दोलनको सन्दर्भमा मुलुकमा दुई अतिवादी सोच देखापरेको टिप्पणी गरेका छन्।

बिहीबार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन्।

उनले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई लक्षित गर्दै जेन–जी आन्दोलनलाई स्वीकार नगर्ने र आन्दोलनको जगमा राजनीतिक स्वार्थको रोटी सेक्ने प्रवृत्ति मुलुकमा देखापरेको भन्दै दुवै अतिवादी सोच भएको टिप्पणी गरे ।

उनले भने, ‘यो देशमा अब सरकारको गोलीबाट कुनै निहत्थाको ज्यान जानु हुदैन । यो देशमा अब कुनै मुकुण्डोधारीले नकाब लगाएर सिंहदरबार जलाउन पनि पाउनुहुन्न । यो अवस्था निर्माण गर्नुपर्नेछ । त्यसको लागि हामीले भाद्र २३ र २४ को घटनालाई हेर्नुपर्छ।

एउटा प्रवृत्ति छ त्यसले के भन्छ भने–भाद्र २३ र २४ को घटनालाई उसले इन्कार गर्छ र भन्छ २३ गते अगाडि र २३ गते देश ठिकठाक थियो । सबले दुधभात खाएका थिए।

केही पनि बिग्रेको थिएन। अर्को प्रवृत्ति छ–जसले बोल्दैन र भन्दैन । तर २३ र २४ गते बलेको आगोमा पेट्रोल थपेर आफ्नो राजनीतिको स्वार्थको रोटीमात्र सेक्छ । केवल उसले आफ्नो फाइदा मात्र हेर्छ । यो दुईटै सोच अतिवादी सोच हो । यस्तै सोचले भोलि फेरि अर्को दुर्घटना गराउँछ ।’

यस्ता सोचले पुनः दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिँदै सभापति थापाले दुवै अतिवादी धारसँग नेपाली काँग्रेस असहमत रहेको स्पष्ट पारे । उनले अब सरकारको गोलीबाट कुनैपनि निहत्था नागरिकले ज्यान गुमाउन नपर्ने वातावरण सिर्जना गर्नुुपर्ने बताए।