एकछत्र राज गरेका देउवा मैदानबाहिर,सुदूरपश्चिममा चार शक्तिको लडाइँ

काठमाडौं । सुदूरपश्चिमको संसदीय राजनीतिमा बहुदलपछि एकछत्र राज गरेका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यसपालिको चुनावमा मैदानबाहिर छन्। २०४८ को आम चुनावमा देउवाको नेतृत्वमा कांग्रेसले सुदूरपश्चिमको दार्चुलाबाहेक सबै क्षेत्रमा जित हासिल गरेको थियो । ०५६, ०७० र ०७९ मा देउवाले सुदूरलाई कांग्रेसको किल्ला बनाए। २०५१ को मध्यावधि, ०६४ को माओवादी उभार र ०७४ को वाम गठबन्धनका बेला भने देउवाको खासै जोर चलेन । यद्यपि, उनी डडेल्धुराबाट निरन्तर निर्वाचित भइरहेका थिए । डडेल्धुराका अतिरिक्त देउवा २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि निर्वाचित भएका थिए।

पुस २७–३० मा भएको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि अहिले देउवा टिकटविहीन मात्रै होइन, पार्टीविहीन जस्तै छन्। यता कम्युनिस्ट घटक नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)पनि एकअर्काविरुद्ध मैदानमा छन्। माओवादी केन्द्रमा एमालेबाट विभाजित एकीकृत समाजवादी र भीम रावल समूह मिसिएर नेकपा बनेपछि सुदूरपश्चिमको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय बनेको छ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सिर्जना गरेको लहरबाट सुदूरपश्चिम अछुतो छैन । रास्वपा थपिँदा चुनावी मैदानमा चार शक्ति देखिएका छन्।

२०७९ को निर्वाचनमा अधिकांश क्षेत्रमा जमानत जोगाउन नसकेको रास्वपाको जबर्जस्त प्रवेशले सुदूरका १६ क्षेत्रमा थप चुनावी रौकन थपिदिएको छ। २०७९ को निर्वाचनमा कैलालीका ५ मध्ये ३ सिट जितेर कांग्रेस र एमालेलाई चकमा दिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भने छिन्नभिन्न भएको छ। नाउपाका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको राजनीतिक बाटो नै फरक भएको छ।

रेशमले नाउपा नेपाल दल गठन गर्दा रञ्जिता नेकपामा प्रवेश गरेकी छन्। तत्कालीन नाउपाका केही नेता रास्वपामा प्रवेश गरेका छन् । यस्तो अवस्थामा रेशमको नाउपा नेपालले कैलाली र कञ्चनपुरको थारुबाहुल्य क्षेत्रमा कस्तो उपस्थिति जनाउँछ भन्ने कुराले पनि सुदूरका १६ सिटको चुनावी नजिता प्रभावित गर्ने छ ।

दलहरूको हिसाब–किताब

गत निर्वाचनमा सुदूरपश्चिमका १६ सिटमा कांग्रेसले ८, एमालेले २, नाउपा र तत्कालीन एकीकृत समाजवादीले ३–३ सिट जितेका थिए । २०७९ मा सुदूरपश्चिममा १६ लाख ५८ हजार ४ जना मतदाता रहेकोमा ८ लाख ९६ हजार ३९५ सदर मत खसेको थियो। अहिले सुदूरपश्चिममा १७ लाख १६ हजार ७२० मतदाता छन् । सुदूरप्रश्चिमका १६ क्षेत्रमा फागुन २१ को निर्वाचनका लागि ५८ हजार ७ सय १६ मतदाता थपिएका छन् ।

समानुपातिक प्रणालीमा सिङ्गो देशलाई एउटा क्षेत्र मानेर राजनीतिक दलले १६५ निर्वाचन क्षेत्रबाट पाएको मतको एकमुस्ट रूपमा गणना हुन्छ। समानुपातिक सिटका लागि कुल खसेको मतको ३ प्रतिशत मत कटाउने दलले मात्र सिट सुरक्षित गर्न सक्छन्।

३ प्रतिशत मत नपाउने दलले समानुपातिकतर्फको सिट नपाउने व्यवस्था छ भने सो मत सिटका लागि गणना नहुने व्यवस्था छ । विगतको मतदानको अनुपात हेर्दा यहाँ ९ लाख मत खसेको अवस्थामा सुदूरपश्चिम प्रदेशले १०–११ जना समानुपातिक सांसद पठाउने देखिन्छ ।

सुदूरपश्चिमका १६ क्षेत्रमध्ये समानुपातिक मतमा कांग्रेस ८, एमाले ५ र नाउपा ३ सिटमा पहिलो देखिन्छ । बाजुरा, अछाम–१ र २, डोटी, डडेलधुरा, कञ्चनपुर २ र ३ मा कांग्रेस, एमाले र नेकपाको क्रमशः मत देखिन्छ भने बझाङ, दार्चुला, बैतडी, कञ्चनपुर १, कैलाली ४ मा एमाले, कांग्रेस र नेकपाको मत छ ।

यस्तै, कैलाली १ र ३ मा नाउपा, कांग्रेस र नेकपा, २ मा नाउपा, एमाले र कांग्रेसले प्रतिस्पर्धी मत पाउँदा कैलाली ५ मा कांग्रेस, एमाले र नाउपाले क्रमशः मत पाएको देखिन्छ । कांग्रेसले २ लाख ८१ हजार १० मत पाउँदा एमालेले २ लाख ५७ हजार ७ सय ७ मत पाएको थियो । १६ क्षेत्रमा कांग्रेस र एमालेले पाएको समानुपातिक मत जोड्दा २३ हजार ३०३ मत कांग्रेसले बढी भएको थियो ।

तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नेकपाको समानुपतिक मत १ लाख ६५ हजार २२५ छ भने नागरिक उन्मुक्ति पार्टीले ९९ हजार ३९२ मत पाउँदा रास्वपाले ४५ हजार १६ मत मात्र पाएको थियो।

सुदूरपश्चिममा विगतमा गठबन्धनमार्फत जितेका ८ सिटमा २–४ सिट थपिने कांग्रेसको दाबी छ। कम्युनिस्ट घटक एमाले र नेकपा एक्लाएक्लै चुनावी मैदानमा रहँदा सुदूरपश्चिममा कांग्रेसलाई जित निकाल्न सहज देखिन्छ।

फागुन २१ अघि देउवा कैलालीको धनगढीमा आएर चुनावी अभियानमा जोडिँदा मात्र पनि १० सिट जित्न सकिने कांग्रेसको आकलन छ। कैलाली २, ५, कञ्चपुर २ र ३, डडेल्धुरा, बैतडी, डोटी, बाजुरा, अछाम १ र २ जित्न सकिने कांग्रेसको बुझाइ छ। बाँकी क्षेत्रमा कांग्रेस मुख्य प्रतिस्पर्धी अवस्थामा रहेको नेताहरू बताउँछन्। देउवा भने उपचारको बाहानामा निर्वाचनको मुखमाप सिंगापुर हानीएका छन्। निर्वाचन सम्म उनी आउँछन् आउँदैनन् त्यसको केही टुङ्गो छैन्। देउवा चुनावी अभियानमा नजोडिँदा ६ सिटभन्दा माथि जित्न कठिन हुने कांग्रेस नेताहरू बताउँछन्।

यता एमाले उपमहासचिव तथा कैलाली–४ का उम्मेदवार लेखराज भट्टले सुदूरपश्चिमको १०–१२ सिट एमालेको पोल्टामा आउने बताएका छन्। एमालेले कञ्चनपुर १, ३, कैलाली ४, दार्चुला, अछाम–२ र बझाङलाई सम्भावित क्षेत्रका रुपमा हेरेको छ । बाँकी क्षेत्रको प्रतिस्पर्धा चुनौतीपूर्ण देखिएको एमाले नेताहरू बताउँछन्।

नेकपाको ६ सिट जित्ने आंकलन रहेको छ। नेकपाले कैलाली १, ३, कञ्चनपुर १, ३ अछाम–१ र डोटीलाई ‘ग्रिन जोन’मा राखेको छ। बाँकी क्षेत्रमा प्रतिस्पर्धा चुनौतीपूर्ण देखिएको नेकपाको बुझाइ छ। गत निर्वाचनमा निष्प्रभावी देखिएको रास्वपा यस पटक सुदूरपश्चिममा स्थापित दल बन्ने दौडमा छ।

रास्वपाले कञ्चनपुर २, डडेल्धुरा, अछाम–२ गरी तीन क्षेत्रमा प्रतिस्पर्धा सहज ठानेको छ। २०७९ को निर्वाचनमा कैलालीका ३ क्षेत्र जितेर तहल्का मच्चाएको तत्कालीन नागरिक उन्मुक्ति पार्टी (नाउपा)अहिले छिन्नभिन्न अवस्थामा छ। नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठसहितका केही नेता नेकपातिर लाग्दा केही नेताहरू रास्वपा पुगेका छन्।

केही नेताहरू रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालमा छन्। नाउपानेका संरक्षक रेशम चौधरी विगतमा जितेको सिट सुरक्षित राख्ने योजना रहेको बताउँछन्। गत निर्वाचनमा नाउपाले कैलाली १, २ र ३ मा जित हासिल गरेको थियो। अहिले कैलाली १ मा रेशम चौधरीको उम्मेदवारी खारेजी भएपछि नाउपानेले स्वतन्त्र उम्मेदवार फागुराम थारुलाई समर्थन गरेको छ।