पैसा बाँड्न लागेको आशङ्कामा कांग्रेसका ३ कार्यकर्ता नियन्त्रणमा

विराटनगर । मतदातालाई प्रभावित पार्न पैसा बाँड्न लागेको आशङ्कामा प्रहरीले मोरङको रतुवामाईबाट नेपाली कांग्रेसका ३ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूका साथबाट साढे चार लाख रुपैयाँ बरामद गरेको हो। रतुवामाई नगरपालिका-८ का ४५ वर्षीय टेकनाथ घिमिरे, रतुवामाई-९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ लिम्बू र ४८ वर्षीय चक्र नेपाली सिजुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घिमिरे कांग्रेसको भ्रातृ सङ्गठन नेपाल किसान महासङ्घ कोशी प्रदेशका सचिव, लिम्बू महाधिवेशन प्रतिनिधि र नेपाली क्रियाशील सदस्य रहेको प्रहरी स्रोतको भनाइ छ । उनीहरू रतुवामाई-७ जामवाढीबाट गयराति साढे ९ बजेतिर पक्राउ परेका थिए ।

प्रहरीले को। १ च ७३३८ नम्बरको कार रोकेर चेकजाँच गर्दा गाडीभित्र ४ लाख ४९ हजार रुपैयाँ नगद, कांग्रेसका पम्प्लेट, ब्यानर तथा नमुना मतपत्र फेला परेको थियो। सोधपुछ र चेकजाँच गरेर उनीहरूलाई छाडिएको छ। उनले गाडी भने प्रहरीको नियन्त्रणमा रहेको छ । रतुवामाई मोरङ-२ मा पर्छ। यहाँ कांग्रेसका डा.मिनेन्द्र रिजाल, एमालेका दिलिप बगडिया, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णकुमार कार्कीलगायत उम्मेदवार छन्।