इरान आक्रमणपछि विश्वभर इन्धन अभाव र महँगी बढ्न सक्ने

काठमाडौं। अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा त्यसको जवाफमा इरानले गरेको प्रतिकारपछि विश्व तेल बजारमा अस्थिरता बढ्ने चिन्ता देखिएको छ।

मध्यपूर्व क्षेत्रबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने भएकाले यहाँको तनाव बढ्दा विश्वभर तेल अभाव र महँगी बढ्न सक्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार क्षेत्रीय तनाव चाँडै नियन्त्रणमा नआए बजार खुल्ने बित्तिकै तेलको मूल्य तीव्र रूपमा बढ्न सक्ने सम्भावना रहेको छ। हालै कच्चा तेलको मूल्य प्रतिव्यारेल करिब ७० अमेरिकी डलरसम्म पुगेको थियो, जुन पछिल्ला केही महिनाकै उच्च स्तर मानिएको छ ।

इरानको प्रमुख तेल निर्यात क्षेत्र खार्ग टापु आसपास पनि विस्फोट भएको खबर आएको छ । यही क्षेत्रबाट इरानको अधिकांश तेल विदेश निर्यात हुने गर्दछ ।

यद्यपि हालसम्म विश्वका लागि अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने तेल बोकेका जहाजहरूमा इरानले सो मार्ग बन्दको घोषणा गरेपनि ठूलो असर नपरेको जनाइएको छ ।

दैनिक रूपमा लाखौँ व्यारेल तेल यही समुद्री मार्गबाट विश्व बजारमा पुग्ने भएकाले यसको सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गरिएको छ ।