सुदूरपश्चिममा निर्वाचनको सबै तयारी पूरा,मतदानमा सहभागी हुन आयोगको अपिल
धनगढी। सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा निर्वाचनको तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बिहीबार बिहान ७ बजेदेखि हुने मतदानको सबै तयारी पूरा भएको जानकारी दिए।
उनकाअनुसार १६ निर्वाचन क्षेत्रका दुई हजार १९९ मतदान केन्द्रमा मतपत्र, मतपेटिकासहित कर्मचारी सोमबार नै पुगिसकेका थिए। उनीहरूले केन्द्रमा मतदानका लागि आवश्यक पर्ने तयारी पूरा गर्दै सर्वदलीय बैठक पनि सम्पन्न गरिसकेको भट्टले बताए।
निर्वाचन आयोगले भयरहित वातावरणमा मतदान प्रक्रियामा सहभागी हुन समेत अपिल गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पनि सबै क्षेत्रमा सुरक्षा प्रबन्ध दुरुस्त बनाइएको जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले केन्द्रीय सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना संयुक्त रूपमा परिचालन भएको जानकारी दिए।
उनकाअनुसार प्रदेशका सबै मतदान स्थलको सुरक्षा संवेदनशीलता विश्लेषण गर्दै सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ।
एसएसपी विष्टले निर्वाचन सुरक्षाका लागि प्रदेशभर सात हजार ९८ जना प्रहरी परिचालन गरिएको बताए। उनकाअनुसार १३ हजार ६४७ जना निर्वाचन प्रहरी पनि सहयोगीका रूपमा खटिएका छन्।
सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिगविजय सुवेदीले पनि चुनावी सुरक्षाका लागि सबै क्षेत्रमा सशस्त्र प्रहरी परिचालन भईसकेको बताए।
उनकाअनुसार प्रदेश भर पाँच हजार बढि सशस्त्र प्रहरी परिचालन गरिएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतनाले पनि चुनावी सुरक्षाका लागि सबै क्षेत्रमा सेना परिचालन भइसकेको जनाएको छ।
बिहीबार हुने निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा कूल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्। प्रदेशभर १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्र तोकिएका छन्।
तथ्यांकअनुसार पुरुष मतदाता ८ लाख ५२ हजार २१९ रहेका छन् भने महिला मतदाता संख्या ८ लाख ६४ हजार ४२३ पुगेको छ।अन्य मतदाता १८ जना रहेका छन्। महिला मतदाता पुरुषभन्दा १२ हजार २०४ ले बढी छन्।
जिल्लागत रूपमा सबैभन्दा बढी मतदाता कैलालीमा रहेका छन्। कैलालीमा ५ प्रतिनिधि सभा क्षेत्र अन्तर्गत ५ लाख ५१ हजार ५२ मतदाता रहेका छन्।
यहाँ २३७ मतदान स्थल र ६४१ मतदान केन्द्र निर्धारण गरिएको छ। त्यस्तै कञ्चनपुरमा ३ लाख १४ हजार ३८५ मतदाता रहेका छन् भने अछाममा १ लाख ६५ हजार ३३७ मतदाता छन्।
बैतडीमा १ लाख ५६ हजार ३७२, डोटीमा १ लाख २८ हजार ३९९, बझाङमा १ लाख २६ हजार ९०३ मतदाता रहेका छन्। डडेलधुरामा ९३ हजार ४०३, दार्चुलामा ९२ हजार ९४८ र बाजुरामा ८७ हजार ८६१ मतदाता रहेका छन्।
