निर्वाचनले निकास नदिने कसपाका संयोजक हरिकृष्ण गजुरेलको ठोकुवा,देश बनाउन राष्ट्रिय सहमति अनिवार्य
काठमाडौं। कम्युनिस्ट समाजवादी पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा गरिने संसदीय निर्वाचनले मुलुकलाई निकास दिन नसक्ने निष्कर्ष निकालेको छ। पार्टीका संयोजक हरिकृष्ण गजुरेलले अहिलेको संरचना र यथास्थितिमा हुने चुनावले सुशासन र समृद्धिभन्दा भ्रष्टाचार तथा सत्तासंघर्षलाई बढावा दिने दाबी गरेका छन्।
त्यस्तै संयोजक गजुरेलले दलहरूबीच प्रधानमन्त्री बन्ने होडबाजी चलेको टिप्पणी गरे। “देश कसरी बनाउने भन्ने स्पष्ट कार्यक्रमभन्दा पनि कसरी सत्ता कब्जा गर्ने भन्ने प्रतिस्पर्धा देखिन्छ,”उनले भने, “यस्तो अवस्थाको निर्वाचनले देशलाई निकास दिन सक्दैन।
उनले चुनावअघि राष्ट्रिय सहमतिको सरकार गठन गरेर निर्वाचन गरेको भए देशमा दिगो निकास दिन सकिने धारणा राखेका छन्। व्यापक राजनीतिक सहमतिबिना निर्वाचनमा जाँदा पुनः अस्थिर सरकार निर्माण हुने र त्यसले मुलुकलाई झन् जटिल अवस्थामा धकेल्ने जोखिम रहेको उनको तर्क छ।
कम्युनिस्ट समाजवादी पार्टीले ‘पहिले निकास, त्यसपछि निर्वाचन’ भन्ने नारा अघि सार्दै स्थायित्वका लागि सर्वदलिय सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेको छ।
गजुरेलका अनुसार संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुखको व्यवस्था लागू गर्न सके मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सम्भव हुने बताएका छन्। संवैधानिक सुधारबिना चुनाव दोहोर्याउनु समस्याको समाधान होइन संयोजक गजुरेलले भने।
वर्तमान संसदीय प्रणालीले अपेक्षित स्थायित्व र सुशासन दिन नसकेको ठहर गर्दै संवैधानिक पुनरावलोकन आवश्यक भएको बताए। सर्वदलिय सहमतिका आधारमा कानुनी व्यवस्था परिमार्जन गरी प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुखको प्रणाली लागू गर्न सके मात्र मुलुकले स्थायित्व र विकासको बाटो समात्ने विश्वास गजुरेले गरेका छन्।
कम्युनिस्ट समाजवादी पार्टीका संयोजक गजुरेलले भने राष्ट्रिय सहमतिमै देशको भविष्य निर्भर रहेको निष्कर्ष आफ्नो पार्टीको रहेको बताए।
