सन्दर्भः ११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस,वीरता र बलिदानको गौरव गाथाले भरिपूर्ण आन्दोलन
– हस्तबहादुर केसी
वीरता र बलिदानको गौरव गाथाले भरिपूर्ण अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन
“महिलाहरूको व्यापक सहभागीताविना समाजवादको स्थापना असम्भव छ।”
– भ्लादीमिर इल्यिच लेनिन
यस लेखमा संसारको आधा भन्दा बढी आकाश ओट्दै आएका महिलाहरूको वीरताको गौरव गाथाका बारेमा संक्षिप्त्त रुपमा चर्चा गर्ने प्रयत्न गरिएको छ । किनभने आज ८ मार्च २०२६ (२४ फागुन २०८२) ११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो । आज ८ मार्चका दिन संसारभरका श्रमजीवी महिलाहरूले आफ्नो मुक्तिको प्यारो ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस धुमधामका साथ मनाउन गइरहेका छन् ।
आज भन्दा ११५ वर्ष पहिले सन ८ मार्च १९११ का दिन महिलाहरूले पुरुष सरह श्रम र ज्याला (पारिश्रमिक) पाउने अधिकार प्राप्त गरेका थिए । त्यसैले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमजीवी महिलाहरूले आफ्नो मुक्ति दिवसका रुपमा मनाउँदै आएका छन् ।
श्रमजीवी महिलाहरू अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका एक महत्त्वपूर्ण अंग र हिस्सा हो । क्रान्तिकारी तथा श्रमजीवी महिलाहरूले पुरुष सरह महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र महिलाहरूको गौरवपूर्ण गौरव गाथाले भरिएको इतिहास छ ।
अब अन्तर्राष्ट्रिय श्रमिक तथा उत्पीडित महिलाहरूको इतिहासको बारेमा चर्चा गर्नु बान्छनीय होला । सर्वप्रथम सन १८५७ अमेरिकाको न्यूयोर्कमा रहेको कपडा मिलमा काम गर्ने अमेरिकी महिलाहरूले आफूहरूलाई पनि पुरुष सरह समान श्रम र समान ज्याला पाउनुपर्ने माग राखि इतिहासमै पहिलोपटक हड्तालमा उत्रिएका थिए । त्यो हड्ताल विश्व कै पहिलो सशस्त्र तथा संगठित महिला विद्रोह थियो । ठूलो संख्यामा त्यस हड्तालमा महिलाहरू भेला भएका थिए ।
त्यसै सिलसिलामा सन १८६० को ८ मार्चका दिन पहिलो महिला संगठन स्थापना गरेका थिए । यसै क्रममा २९ वर्ष पछि फ्रान्सको पेरिसमा सन १८८९ मार्च ८ कै दिन अन्तर्राष्ट्रिय श्रमिक महिला नेतृ क्वलारा जेट्किन (डेनमार्क निवासी) ले पहिलोपटक श्रमिक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकि थिइन ।
त्यसदेखि यता निरन्तर रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिलाहरूले आफ्नो मात्रै मुक्ति नभएर सिंगो मानव जातिकै वर्गीय मुक्तिका निम्ति आवाज उठाउँदै र संघर्ष गर्दै आएका छन् ।
क्रान्तिकारी तथा श्रमजीवी महिलाहरूको सहभागीताविना आजसम्म कुनै पनि देशमा क्रान्ति र परिवर्तन भएको छैन र हुन पनि सक्तैन । त्यसो भएर नै विश्व सर्वहारा वर्गका महान् नेता लेनिनले भन्नुभएको छ , “ महिलाहरूको व्यापक सहभागीताविना समाजवादको स्थापना असंभव छ ।“
उदाहरणका रुपमा लिन सकिन्छ कि पहिलोपटक विश्व सर्वहारा वर्गले आफ्नो अधिनायकत्व सहितको सन १८७१ पेरिस कम्युनको निर्माण गर्नमा लाखौं फ्रान्सेली महिलाहरूले योगदान गर्नुका साथै हजारौं महिलाहरूले आफ्नो जीवन सत्सर्ग गरेर बलिदानको गौरवपूर्ण गाथा कोरेका थिए ।
सन १९१७ अक्टोबर २५ ( रुसी नयाँ क्यालेन्डर अनुसार सन १९१७ नोभेम्बर ७ का दिन महान् रुसी सर्वहारा समाजवादी क्रान्ति सम्पन्न गर्ने क्रममा लाखौं रुसी श्रमिक तथा उत्पीडित महिलाहरूले अतुलनीय योगदान गरेका थिए ।
त्यस्तै सन १९४५ सम्पन्न कोरियन जनवादी तथा समाजवादी क्रान्ति, त्यसै वर्ष सम्पन्न भियतनामी जनवादी तथा समाजवादी क्रान्ति, सन १९४९ अक्टोबर १ मा सम्पन्न महान् चिनिया नयाँ क्रान्तिका क्रममा लाखौं लाख श्रमिक तथा उत्पीडित महिलाहरूले अतुलनीय योगदान पुर्याएका थिए।
त्यस्तै कम्वोडियाली क्रान्ति, सन १९५९ सम्पन्न क्वुवाली क्रान्तिमा पनि लाखौँ, करोडौँ श्रमिक तथा क्रान्तिकारी महिलाहरूले अतुलनीय योगदान पुर्याएर विश्व श्रमिक तथा क्रान्तिकारी महिलाहरूको गौरवपूर्ण गाथा सुनौला अक्षरले लेख्न सफल भएका थिए ।
यसका अतिरिक्त नेपाली महान् दश वर्षे जनयुद्धका क्रममा, महान् पेरुभियाली जनयुद्धका क्रममा, भारत, फिलिपिन्स, बंगलादेश, अफगानिस्तान, टर्की, जर्मनी, ब्राजिल, भेनेजुयला लगायतका देशहरूमा आजसम्म क्रान्तिलाई अगाडि बढाउन लाखौँ लाख क्रान्तिकारी एवम् श्रमजीवी महिलाहरूले अतुलनीय योगदान मात्रै पु¥याएका छैनन्, क्रान्ति र सामाजिक परिवर्तनका निम्ति जीवन उत्सर्ग गरेर वीरताको गौरवपूर्ण गाथालाई समृद्ध तुलाउन सफल भएका छन् । र, यो क्रम जारी छ । जारी रहनेछ।
चिनिया नयाँ जनवादी क्रान्ति, भियतनामी क्रान्ति, कोरियन क्रान्ति, नेपाली सशस्त्र जनयुद्ध , पेरुभियाली सशस्त्र जनयुद्धमा सबैभन्दा बढी क्रान्तिकारी महिलाहरूले अतुलनीय योगदान तथा बलिदान गरेको इतिहास छ विश्व कम्युनिस्ट आन्दोलनमा ।
क्वलारा जेट्कन, रोजा लग्जमवर्ग, कोन्ताई, याङ काई हुई, नाजेत्दा क्रुस्काया आदि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय महिला वीर वीरंगानाहरूले भरिएको छ अन्तर्राष्ट्रिय श्रमिक महिलाहरूको गौरवपूर्ण वीरताको गाथा।
आजको युग साम्राज्यवाद र विश्व सर्वहारा वर्ग बीचको भीषण वर्गसंघर्षको युग हो। विश्व क्रान्ति सम्पन्न नभएसम्म अन्तर्राष्ट्रिय मानव जातिले वर्गीय मुक्ति प्राप्त नगरेसम्म अन्तर्राष्ट्रिय श्रमिक तथा क्रान्तिकारी महिलाहरूको वीरताको गौरवपूर्ण गाथाको इतिहासमा अरु इटा थप्ने काम जारी रहनेछ ।
(लेखकः वरिष्ठ माक्र्सवादी दार्शनिक, लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)
