सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्बभन्दा बढी पुग्यो

काठमाडौं। फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको फागुन मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब ४८ अर्ब ११ करोड र बाह्य १५ खर्ब ३० अर्ब १८ करोड रहेको छ।

गत असार मसान्तको तुलनामा फागुन मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण २ खर्ब ४ अर्ब २५ करोड थपिएको छ। गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो।

यो सार्वजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४७.१३ प्रतिशत हो। चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्म २ खर्ब ९५ अर्ब १९ करोड ऋण प्राप्त भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५०.४४ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षमा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड विनियोजन भएकोमा फागुन मसान्तसम्म २ खर्ब ४२ अर्ब २६ करोड भुक्तानी भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उल्लेख गरेको छ । यो वार्षिक बजेट विनियिजनको आधारमा ५८.९४ प्रतिशत हो । कुल गार्हस्थ उत्पादनको आधारमा माघ मसान्तसम्म कुल ऋण सेवा खर्च ३.९७ प्रतिशत रहेको छ ।