रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिन निर्णयविरुद्धको रिटमाथि आज पनि निरन्तर सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतमा सुनुवाइका क्रममा रहेको उक्त मुद्दा सुनुवाइ नसकिएपछि न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले सोमबार पनि हेर्दाहेर्दैमा राखेको थियो ।
उक्त मुद्दामा त्यसअघि चार दिन लगातार सुनुवाइ भएको थियो । सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गरेका थिए । रिट निवेदकको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेपछि त्यसलाई बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका थिए ।
यसअघि सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयले माघ २ गतेको निर्णय झिकाउन आदेश दिएपछि सोमबारको पेसी तोकिएको थियो । जसअनुसार सुनुवाइ हुने क्रम नसकिएपछि हेर्दाहेर्दैमा गएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिल पोखरेलको संयुक्त इजलासले गत बिहीबार महान्यायाधिवक्ताले अभियोगपत्र संशोधनसम्बन्धी गरेको पछिल्लो निर्णयलगायत सम्बन्धित फाइल झिकाउन आदेश दिएको थियो ।
