कांग्रेसमा दुई पक्षबीच टकराव, देउवा घुमफिरमै मस्त
काठमाडौं । जेनजी आन्दोलनले नेतृत्वमा पुस्तान्तरणको नारा खुब घन्कायो। कांग्रेसमा यो नाराले सार्थकता पायो पनि । गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन भयो र त्यही महाधिवेशबाट उनी सभापति चुनिए।
नेपाली कांग्रेसमा विशेष महाधिवेशनअघि एउटा भाष्य थियो– सभापति शेरबहादुर देउवाविना कांग्रेस चल्दैन। देउवाको वरिपरि रहेर राजनीतिक लाभ लिनेहरूको भीड लागेको थियो। तर, तत्कालिन महामन्त्री गगन थापा पक्षले अब पुरानाबाट कांग्रेस चल्दैन भन्यो र विशेष महाधिवेशनबाट नेतृत्व खोस्यो। रूपान्तरित कांग्रेस भन्दै थापाकै हस्ताक्षरमा टिकट बाँडियो र कांग्रेस चुनावमा होमियो । तर, कांग्रेसले चुनावमा सोचेजति मत ल्याउन सकेन।
चुनावमा एक प्रकारको पराजय भयो। गगनले राजीनामा दिए तर, उनको राजीनामा केन्द्रीय समिति बैठकबाट अस्वीकृत भयो । चुनावपछि अर्को सन्दर्भ चर्को रुपमा दखिएको छ। सभापति गगन थापाविना कांग्रेस चल्दैन भनेर राजनीतिक भविष्य सुनिश्चित गर्नेहरूको लाम बढ्दै गयो र राजिनामा पनि अस्वीकृत भयो।
चुनावमा लज्जाजनक पराजयसँगै पार्टीभित्र बढ्दै गएको विवाद समाधानतर्फ भने कांग्रेसको वर्तमान संस्थापनपक्षले ध्यान दिएको छैन । संस्थापन पक्षचाहि आन्तरिक छलफलमा जुटेको छ।
निर्वाचनमा विवधि कारणले पराजय भोगपनि अहिले भने उनीहरु जुट्न र भेटघाट गर्न थालेका छन्। नेताहरुले पूरानो र तत्काल उत्पन्न भएको विवाद कायमै राखेर चुनावमा जाँदा बेहोरेको हारबाट पाठ सिक्नुपर्ने बताइरहेका छन्। जसले कांग्रेसमा आरोप–प्रत्यारोप, आन्तरिक शक्तिसंघर्ष र गुटबन्दी झन् चर्काउँदै लगेको छ।
निर्वाचनलगत्तै बोलाइएकाले कांग्रेस केन्द्रीय समितिमा पार्टीले भोग्नुपरेको लज्जाजनक हारको गम्भीर छलफल हुने र त्यसअनुसार अबका रणनीति तय हुने अनुमान गरिएको थियो। तर, त्यसो भएन । गगन थापाले केन्द्रीय समितिमा दुवै पक्षलाई समेट्न सकिरहेका छैनन ।
गत पुस अन्तिममा गरेको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष पार्टीबाट बाहिरै घुमिरहेको छ। देउवा सपरिवार सिंगापुरदेखि हङकङसम्म घुमिरहेका छन्। एक प्रकारले भन्ने हो भने उनी राजनीतिक छुटीमा रहेका छन्।
नेता शेखर कोइराला पक्षले चुनावमा भाग लिए पनि पूर्णतः नेतृत्व स्वीकारिसकेको छैन। उनीहरुले आफ्नो पक्षको भेला गरिरहेका छन्। विवाद कायमै राखेर निर्वाचनमा जाँदा बेहोरेको हारबाट पाठ सिक्दै वर्तमान कार्यसमितिको पहिलो प्राथमिकता आन्तरिक एकतामा हुनुपर्नेमा अहिलेसम्म यो प्रयास गर्न सकेको छैन।
देउवा पक्षका नेताहरुले काठमाडौका विभिन्न होटलहरुमा आन्तरिक भेला र छलफल गरिरहेका छन् । १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले बहुमतको दम्भ देखाउँदै विशेष महाधिवेशनलाई इन्कार गर्दा आधिकारिकता गुमाउनु परेको पछिल्लो परिस्थितिमा देउवा पक्षका नेताहरु आन्तरिक बैठकमा लागेका छन्।
विगतमा देउवाका वरिपरि रहेका शीर्ष नेता, पदाधिकारी र पूर्वपदाधिकारीले जे गरेका थिए, अहिले सभापति थापा वरपर रहेका पदाधिकारी र केन्द्रीय समिति सदस्यले त्यही गरिरहेको अवस्थामा दुवै पक्ष टसमस भएका छैनन ।
विगतमा देउवाविना पार्टी चल्दैन भन्ने भाष्य कांग्रेसमा बनाइएको थियो, जसलाई थापा नेतृत्वको समूहले अस्वीकार मात्रै गरेको थिएन, विशेष महाधिवेशनमार्फत देउवालाई विस्थापन गरेको थियो।
तर, अहिले सभापतिको थापाको नेतृत्वमा निर्वाचन जाँदा जनादेशले अस्वीकृत गर्दासमेत गगन थापाविना कांग्रेस चल्दैन भन्ने भाष्य बनाइएको नेताहरुको भनाइ छ, जसले गर्दा गगन थापालाई नै नैतिक संकटतर्फ धकेलिरहेको छ ।
गगन थापा र अहिलेको कार्यसमितिलाई तत्काल नियमित महाधिवेशन गरेर कांग्रेस एक बनाउने अवसर छ । तर, त्यतातर्फ भने ध्यान दिएको देखिँदैन । विशेष महाधिवेशनले तल्लो तहसम्मै विभाजित कार्यकर्तामा एक भएको सन्देश दिन कांग्रेस चुकिरहेको छ।
बरू निर्वाचनमा नलडेका र टिकट नपाएकाहरुले असहयोग गर्दा पराजित हुनुपरेको विश्लेषण नेताहरू गरिरहेका छन्। तर, अर्काथरि भने थापा नेतृत्वमा चुनावमा जाँदा कम्तीमा दोस्रो भएको, देउवाको नेतृत्वमा निर्वाचनमा गएको भए एमालेभन्दा पनि खत्तम हुने विश्लेषण गरिरहेका छन्।
पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वाच्च अदालततको फैसला पर्खिरहेको छ। अहिले समूहको बैठक बोलाउनेदेखि अन्य समानान्तर गतिविधि गर्नेसम्मका विकल्पमा नेताहरूले छलफल गरिरहेका छन्।
देउवा विदेशबाट फर्किएपछि गतिविधिले झन् तीब्रता पाउने नेताहरूको भनाइ छ। चुनावको मुखमा मौन बसेको यो पक्ष अब खुल्न थालेको छ। यता गगन थापाले रुपान्तरित र पुस्तान्तरणसहितको कांग्रेस भनेर आफ्नो समूहलाई बाहिर जान दिइरहेका छन्।
