सबै प्रदेशका सांसदसँग चरणबद्ध छलफलमा प्रधानमन्त्री शाह
काठमाडौं।बालेन्द्र शाहले सबै प्रदेशका सांसदहरूसँग चरणबद्ध छलफल सुरु गरेका छन्। सोही क्रममा उनले सोमबार कर्णाली प्रदेशका सांसदहरूसँग पहिलो चरणको बैठक गरेका हुन्।
प्रधानमन्त्री शाहले प्रत्येक प्रदेशका सांसदसँग छुट्टाछुट्टै छलफल गर्ने योजना बनाएका छन्। कर्णालीपछि अन्य प्रदेशका सांसदहरूसँग पनि सम्भव भएसम्म क्रमशः बैठक गर्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ।
छलफलमा प्रदेशहरूको समग्र अवस्था, विकास प्रगति र देखिएका चुनौतीबारे समीक्षा गरिने बताइएको छ। साथै, केन्द्र र प्रदेशबीच समन्वयलाई प्रभावकारी बनाउने विषयमा पनि विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।
सांसदहरूसँगको छलफलपछि प्रधानमन्त्री शाहले प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख तथा सचिवहरूसँग पनि अलग–अलग बैठक गर्ने तयारी गरेका छन्।

