पक्राउ पर्ने हल्लाबीच महेश बस्नेतले स्टाटस लेख्दै भने-माइतीघरमा भेट हुनेछ

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्ने ‘भूमिगत’ बनेको व्यापक हल्ला चलिरहँदा उनी सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् । आइतबार साँझ केही घण्टा उनको मोबाइल अफ हुँदा बस्नेत भागेको हल्ला सुरू भएको थियो ।

बस्नेतले केही बेरअघि ताजा स्टाटस लेख्दै आज दिउँसो माइतीघर मण्डलामा आयोजना हुने विरोध कार्यक्रममा अपिल हुन आह्वान गरेका छन् ।

बालेन नेतृत्वको सरकार अधिनायकवादी र निरंकूश शैलीमा अघि बढिरहेको उनको टिप्पणी छ । स्टाटसमा उनले सुदन गुरुङलाई ‘कथित गृहमन्त्री’ भनेका छन् । आन्दोलनको मोर्चामा भेट हुने बताएका छन् ।

यता गृहमन्त्री सुदन गुरुङ भने बस्नेतलाई पक्राउ गर्ने योजनामा छन् । उनको सचिवालयका अनुसार हिजो बस्नेतलाई पक्राउको लागि प्रहरी परिचालनसमेत गरिएको थियो ।

बस्नेतविरुद्ध शोभा पाठकले हालेको मुद्दा अदालतमा विचाराधीन छ । पाठक हिजो उनलाई पक्राउ गर्नुपर्ने माग लिएर प्रहरीमा पुगेकी थिइन् ।

बस्नेतले भने आफूलाई पक्राउ गर्ने कुनै पनि आधार नभएको बताउँदै आएका छन् । आफूलाई गिरफ्तार गरेर आन्दोलन कमजोर पार्ने षडयन्त्र भइरहेको टिप्पणी गरेका थिए।