कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई गतिछाडा नबन्न चन्द्र भण्डारीको सुझाव

फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर गतिविधि र पुराना नेताको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।

कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला समूहले गरेको समानान्तर गतिविधिप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत पाका नेताहरूबाट त्यस्तो गतिविधि नसुहाउने टिप्पणी गरेका हुन् ।

उनले संयमित र जिम्मेवार राजनीति गर्न पनि पुराना नेताहरूलाई आग्रह गरेका छन् । ‘झगडा राजनीति हो ? झगडा नेपालीको पहिचान हो त? हारमा झगडा, जितमा झगडा न धैर्यता, न विधि, पाका नेताहरू पाका बन्नु पर्दैन र ? भन्दै उनले प्रश्न उठाएका छन्।

नेता भण्डारीले खड्का–कोइराला समूहको गतिविधिलाई घुमाउरो तरिकाले गतिछाडा गतिविधिको संज्ञा दिएका छन् । उनले गलत सन्देश दिने गतिविधि पाका नेताहरूबाट हुनु दुर्भाग्यपूर्ण रहेको आशय व्यक्त गरेका छन् ।

नेता भण्डारीका अनुसार लोकतान्त्रिक अभ्यासभित्र विचार फरक हुनसक्छ, तर त्यसलाई झगडा र विभाजनतर्फ लैजानु गलत हो । उनले सबै नेता–कार्यकर्तालाई पार्टीको विधि र मूल्य–मान्यताभित्र रहेर जिम्मेवार ढङ्गले अघि बढ्न आह्वान गरेका छन्।