पार्टी पुनर्गठनका लागि प्रचण्डले अघि सारे १० बुँदे प्रस्ताव
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन गर्ने तयारी गरेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको संयोजन समितिको बैठकमा आगामी कार्य योजनासहितको प्रस्ताव अघि सारेका हुन् ।
पार्टीले तत्कालै साङ्गठनिक, वैचारिक, आर्थिक र प्राविधिक कामको ठोस कार्य योजना बनाएर अगाडि बढ्नु पर्ने उनको निष्कर्ष छ। पार्टीको पुनर्गठन र रूपान्तरण अभियान व्यापक रूपमा सञ्चालन गर्नको लागि १० बुँदे प्रस्ताव राखेका छन् ।
अबको तीन महिनाभित्र सबै वडामा सङ्गठन निर्माण गरिसक्ने, पाँच महिनाभित्र वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन गर्ने र ६ महिनाभित्र पार्टीको एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव छ ।
यी हुन् प्रचण्डले अघि सारेको १० बुँदे प्रस्ताव
क-सङ्गठन समायोजन र निर्माण: पार्टी सङ्गठन र पार्टी सम्बद्ध जनवर्गीय सङ्गठनहरूलाई नयाँ ढङ्गले पुनर्गठन र रूपान्तरण गर्न जरुरी छ । त्यसका लागि एक महिनाभित्र पालिका तहसम्मका भएका सबै सङ्गठन समायोजन गर्ने र नभएका स्थानमा नयाँ सङ्गठन निर्माण गर्ने। तीन महिनाभित्र सबै वडामा सङ्गठन निर्माण गरिसक्ने ।
ख- पार्टी सदस्यता नवीकरण र अधिवेशन:अबको तीन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरिसक्ने र पाँच महिनाभित्र वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन गर्ने।
ग- एकता महाधिवेशनको आयोजना अबको छ महिनाभित्र पार्टीको एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने।
घ-नेतृत्वको पुनर्गठन र रूपान्तरण स् पार्टी सङ्गठनको मात्र होइन नेतृत्वको पनि पुनर्गठन र रूपान्तरण गर्न जरुरी छ। त्यसका निम्ति पनि ठोस कार्ययोजना बनाएर अगाडि बढ्नु पर्दछ ।
ङ- प्रशिक्षण अभियान स् सङ्गठन समायोजन र पुनर्गठनसँगै सघन रूपमा सैद्धान्तिक÷वैचारिक प्रशिक्षण अभियान सञ्चालन गर्नु आवश्यक छ। व्यवस्थित पाठ्यक्रम बनाएर सघन प्रशिक्षण अभियान सञ्चालन गर्ने।
च-आर्थिक कोश निर्माण अभियान स् पार्टीलाई सङ्गठन र विचारको साथै आर्थिक रूपले पनि सबल बनाउनु आवश्यक छ। त्यसका लागि आर्थिक कोश निर्माण अभियान सञ्चालन गर्ने।
छ-प्रभावकारी रचनात्मक प्रतिपक्ष स् संसद्मा प्रभावकारी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने। राष्ट्र र जनसरोकारका विषयमा प्रभावकारी ढङ्गले प्रस्तुत हुने।
ज- प्रदेश र स्थानीय तह स् परिचालन प्रदेश र स्थानीय तहमा रहेका हाम्रो पार्टी सङ्गबद्ध जनप्रतिनिधिहरूलाई अझ बढी जनपक्षीय काम गर्ने गरी परिचालन गर्ने।
झ-प्राविधिक क्षमता विकास स् प्राविधिक ज्ञानविनाको पार्टीले अब काम गर्न सक्दैन भन्ने प्रस्ट भएको छ। त्यसैले पार्टीका नेता र कार्यकर्ताको प्राविधिक क्षमता विकासका निम्त अभियान चलाउनु पर्दछ।
ञ- कार्यशैली र आचरण सुधार स् पार्टीका नेता तथा कार्यकर्ताको कार्यशैली, जीवनशैली र आचरण सुधार गर्नु आवश्यक छ। यसको पनि ठोस कार्ययोजना बनाउनु पर्दछ।
