बालेन सरकारसमक्ष धेरै छन् चुनौती,काम गर्न नगरौं अल्छी र ढिलासुस्ती

रवि लामिछानेले तत्कालीन गृहमन्त्री पद छोड्दै भनेका थिए,‘२७ वटा भ्रष्टाचारको फाइल खोल्न तयार गरेको थिए । त्यहीँ भएर काँग्रेस र एमालेले सरकार ढाल्यो ।’ उनी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा गृहमन्त्री थिए । काँग्रेस र एमालेको गठबन्धनपछि प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो ।

अहिले रास्वपाको झण्डै दुई तिहाईको सरकार छ । सरकार बनेको दुई साता हुन लागिसकेको छ । तर, यी फाइल खोल्न किन ढिलाई गरेको ? फाइल खोल्न साइत हेरिरहेको हो र ? कि फाइल नै छैन ? जनतालाई भ्रमित पो बनाएको पो हो कि ? प्रधानमन्त्री बालेन्द्र साह र रास्वपाले यसको कारण जनतालाई बताउनुपर्छ कि पर्दैन ?

भनिन्छ नि, काम गर्नेको पारा बेग्लै हुन्छ । तर, रास्वपाको काम गर्ने सुरसार देखिँदैन । रास्वपाले काम गर्थ्यो भने प्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएर आउनेबित्तिकै सार्वजनिक गर्थें । यो सरकारले भ्रष्टाचारको फाइल खोल्छ, मँहगी नियन्त्रण गर्छ, छिमेकीले कब्जा गरेर नेपालको भूभाग फिर्ता ल्याउँछ भन्ने आधार देखिँदैन ।

बालेनले विकासको मूल फुटाउँछ । भ्रष्टाचारीलाई कारबाही गर्छ । विदेशीको समक्ष झुक्दैन भनेर रास्वपालाई यत्रो मत दिए । रास्वपालाई मत दिनुको कारण बालेन नै हो । तर, बालेन पनि ‘पर्ख र हेर’ गरिरहेका छन् । आजको दिन फेरि भोलि फर्किएर आउँदैन । यो कुरा बालेनले बुझ्न आवश्यक छ ।

चैत १८ गते चुनावपछिको पहिलो सदनको बैठक बोलाइयो । तर, तोकिएको समयभन्दा १८ मीनेट ढिलो बैठक शुरु भयो । नयाँको कार्यशैलीमा पुरानाभन्दा के फरक देखियो ? पुरानाहरुलाई समयको महत्व थाहा थिएन । नयाँ पनि उस्तै निक्लिए । समयको ख्याल नगर्ने । सदनमा रवि लामिछाने, एमालेका संसदीय दलका नेता रामबहादुर थापा, नेकपाका वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ, नेपाली काँग्रेसका गुरु बरालले बोले ।

तर, प्रधानमन्त्री बालेनले बोलेनन् । प्रधानमन्त्रीले के बोल्लान् भनेर जनता ठाडो कान लगाएर बसेका थिए । तर, उनले अनुहार मात्र देखाए, जनतालाई सम्बोधनसमेत गरेनन् । प्रधानमन्त्री बनेपछि पनि बालेनको कार्यशैलीमा परिवर्तन आएन । उनी अझै जनताप्रति उत्तरदायी देखिएका छैनन् ।

उनले त त्यो दिन सदनमा उभिएर आफूले गर्नुपर्ने कामहरु जनतासमक्ष छर्लङ्ग पार्नुपर्थ्यो । विडम्बना, उनले त्यो गरेनन् । यता, अन्य पार्टीका नेताहरुले पनि आफ्नो पार्टीको विषयमा मात्रै कुरा उठाए । सबै आफ्नो कुरा उठाउने अनि देश र जनताको कुराचाँहि कसले उठाउने ?

देशमा उद्योग, कलकारखाना खोल्ने, रोजगारी बढाउने, व्यक्तिको नाममा गएको सरकारी सम्पत्ति खोताल्ने, विदेशी हस्तक्षेप रोक्ने, विदेशीले लगेको नेपालको भूभागको विषयमा कसले बोल्ने ? यहाँ त जुन जोगी आएपनि कानै चिरेको अवस्था देखियो । ३५ वर्षसम्म काँग्रेस, एमाले, माओवादीले केही गरेन भनेर जनताले रास्वपालाई यत्रो सिट दिए ।

तीन वर्षअघि दर्ता भएको पार्टीलाई एकाएक त्यहाँ पुर्याइयो । समयको ख्याल गर्न नसक्दा, हैसियत र कर्तव्य बुझ्न नसक्दा आज माओवादी, एमाले, काँग्रेसको पत्तासाफ भयो । रास्वपा पनि त्यही बाटो जाने हो भने सकिन धेरै टाइम लाग्दैन । रास्वपाले एक सय दिनमा एक सय काम गर्ने सूची सार्वजनिक गरेको छ ।

त्यो जनतालाई अल्मलाउने बाटो मात्रै हो । क्याबिनेटको बैठक बस्नलाई सोमबार र बिहीबार कुर्नुपर्छ ? दिनकै बसेपनि के हुन्छ ? क्याबिनेट बैठक बस्ने हो, भटाभट फाइल खोल्ने हो । यदि पुरानै प्रवृत्ति फलो गर्ने हो भने रास्वपालाई भोट दिनुको औचित्य के रह्यो ? सातामा दुई दिन क्याबिनेटको बैठक बस्ने प्रवृत्ति अब फेर्नुपर्छ ।

आवश्यक परे दिनकै मन्त्रिपरिषद्को बैठक बसेर भएतापनि काम गर्नुपर्छ । शेरबहादुर देउवा, पुष्पकमल दाहाल, केपी शर्मा ओली, माधवकुमार नेपालले सँधै हामी नै पदमा रहिरहने होजस्तो सोचे । उनीहरुले भोलि, पर्सि गरौंला भने । त्यसैले आज यो हालत भयो । पहिले पुराना पार्टी र अहिले नयाँ पार्टीलाई भोट दिने उही नेता हुन् ।

अब जनता धेरै सचेत भइसकेका छन् । जनतालाई अल्मलाउँछु भनेर नसोचेपनि हुन्छ । सरकारले के गर्यो ? जनताले वाच गरिरहेका छन् । बालेनले काठमाडौं महानगरको मेयरमा ६१ ह्जार सात सयभन्दा बढी मत ल्याएर जिते । जित्नेबित्तिकै उनले सरकारी जग्गा कब्जा गरेर बसेका सुकुम्बासीमा डेजर चलाउन थाले ।

त्यसैले सर्वत्र उनको चर्चा भयो । त्यति काम गर्दा आज उनी प्रधानमन्त्री बने कि बनेनन् ? उनकै कारणले आज रास्वपाले यत्रो सिट जितेको हो । मेयर हुँदा उनमा जुन जोश थियो, अहिले त्यो जोश देखिएको छैन । जनताले यो सरकारसँग धेरै आश गरेका छन् । यो सरकारले पनि काम गर्न सकेन भने सरकारमाथिबाट जनताको आशा सँधैका लागि डग्मगाउँछ ।

जनताले आफ्नो कर्तव्य निर्वाह गरिसके, अब पालो सरकारको हो । जनताले दुई तिहाई नजिक पुर्याए, अब सरकारले जनतालाई प्रमाणित गर्नुपर्छ । बालेन सरकारले काम गर्न सकेन भने पाँच वर्षपछि फेरि दोहोरिने पुराना दल नै हुन् । जनताले आफ्नो पार्टीको गाडी चढेर गएर घण्टीलाई भोट दिएका छन् ।

परिवर्तन हुन्छ कि भनेर जनताले भोट हालेका हुन् । १० वर्ष जनयुद्ध लड्दा पनि माओवादीले रास्वपाजति सीट ल्याउन सकेन । प्रत्यक्षमा १२० सिट ल्यायो । रास्वपाले त प्रत्यक्षमै १२५ सीटमा चुनाव जितेको छ । माओवादीले जनताको मतको कदर गर्न नसक्दा आज के हालत भयो ?

सबैको अगाडि छर्लङ्ग छ । माओवादी सकियो, प्रचण्डसहितको नेकपाले १७ सीट ल्यायो । रास्वपाले यत्रो सीट ल्याउनु सामान्य कुरा होइन । काम गर्यो भने जनताले पटकपटक भोट दिएर जिताउँछन् भन्ने उदाहरण भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हुन् । उनले पटकपटक चुनाव जितिसकेका छन् ।

चुनाव भएको एक साता बितिसक्यो । यो अवधिमा सरकारले केही गरेन । अब ५९ महिना बाँकी छ । यो समय घर्किन धेरै समय लाग्दैन । त्यसैले भटाभट काम गरौं । जनतालाई परिणाम दिऊँ । जनताले धेरै खोजेका केही छैनन् । देशमा सुशासन चाहियो । छिमेकीले कब्जा गरेर जमिन फिर्ता ल्याउनुपर्यो ।

जनतालाई देशभित्रै रोजगारीको वातावरण मिलाउनुपर्यो । देशमा विकास हुनुपर्यो । भ्रष्टाचारको अन्त्य गरिनुपर्यो । भ्रष्टाचार गरेर कमाएकाको सम्पत्ति राष्ट्रियकरण हुनुपर्यो । संविधानप्रदत्त अधिकारबाट कुनै नागरिक वञ्चित हुनुभएन । यसका लागि सरकारले अहिलेदेखि नै काम थाल्नुपर्छ ।

समय थोरै छ, गर्नुपर्ने काम धेरै । सरकारले समय खेर नफालिकन धमाधम काम गर्नुपर्यो । उद्घाटन र कार्यक्रममा नगएर काममा मात्र ध्यान दिनुपर्यो । सदनमा नियमित उपस्थित हुनुपर्यो । कानुनहरु पनि तीव्र रुपमा पारित हुनुपर्यो । पुराना दलका सांसदहरु सदनमा निदाएर बस्थें ।

भत्ता बुझेर कार्यक्रममा दौडिन्थें । अब यो रोकिनुपर्यो । पहिलो सदनमा केही रास्वपा सांसद निदाएको देखियो । अब यो देखिन नपरोस् । जनताको मत र चुनाव गर्दा लागेको जनताको कर खेर नजाओस् ।