लेनिनको १५६औं जन्मजयन्ती र नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसप्रति ऐक्यबद्धता
काठमाडौं। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् नेता तथा लेनिनवादका प्रतिपादक भ्लादीमिर इल्यिच लेनिन को १५६औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी को ७७औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै छ।
सन १८७० अप्रिल २२ मा जन्मिएका लेनिनको योगदानको स्मरण गर्दै विश्वभरका सर्वहारा श्रमजीवी वर्ग तथा उत्पीडित जनसमुदायले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। त्यस्तै, यही दिन भारतको कोलकातामा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेपालमा पनि विभिन्न राजनीतिक तथा वैचारिक कार्यक्रम सम्पन्न भएका छन्।
यस अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी अन्तर्राष्ट्रिय लेखक,पत्रकार,साहित्यकार तथा सांस्कृतिककर्मीहरूको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले जारी गरेको वक्तव्यमा लेनिनका विचारहरू आज पनि सान्दर्भिक रहेको उल्लेख गर्दै विश्व साम्राज्यवाद र सर्वहारा वर्गबीचको वर्गसंघर्ष निरन्तर जारी रहेको जनाइएको छ।
वक्तव्यमा विश्वभरका श्रमजीवी वर्ग, उत्पीडित राष्ट्र तथा जनसमुदायलाई एकताबद्ध भई क्रान्तिको दिशामा अघि बढ्न आह्वान गरिएको छ। साथै, नेपालका कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूलाई नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको लक्ष्य हासिल गर्न एकजुट हुन आग्रह गरिएको छ।
त्यसैगरी, विभिन्न माओवादी धारका पार्टी र समूहहरूबीच एकता कायम गरी सुदृढ क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।
