सोसल मिडिया नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सामाजिक सञ्जाल प्लेटफर्महरू दर्ता नभएका कारण अनुसन्धानमा ठूलो समस्या भएको गुनासो गरेका छन् ।
बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आईजीपी कार्कीले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप जस्ता लोकप्रिय प्लेटफर्महरू विदेशबाट सञ्चालन हुने भएकाले आवश्यक विवरण र प्रमाण प्राप्त गर्न निकै समय लाग्ने बताए ।
उनले भने, ‘माइनर मिसिङ र सुसाइडका घटनामा २४ घण्टाभित्रै सूचना आउँछ, तर अन्य केसमा एक हप्ता वा त्यसभन्दा बढी समय लाग्छ । नेपालमा यी प्लेटफर्म दर्ता नभएको र हाम्रो नेटवर्क नभएका कारण अनुसन्धान प्रक्रिया प्रभावित भएको छ । कानुनी व्यवस्था गर्न नसक्दा व्यक्तिगत सम्बन्धको भरमा मात्र विवरण लिनुपर्ने अवस्था छ ।
आईजीपी कार्कीले इन्टरनेट र मोबाइल प्रयोग बढेसँगै साइबर अपराध पनि उल्लेख्य रूपमा वृद्धि भएको जानकारी दिए । उनका अनुसार महिला र युवाहरू बढी प्रभावित छन् । हाल ४ हजारभन्दा बढी फेक अकाउन्टबाट घृणा फैलाउने, ३ हजारभन्दा बढी बुलिङ तथा ह्यारेसमेन्ट र १० हजारभन्दा बढी वित्तीय अपराध ९अनलाइन ठगी, एकाउन्ट ह्याकिङ० सम्बन्धी उजुरी प्रहरीमा परेका छन् ।
नेपालमा टिकटक, भाइबर, निम्बस, वीटक र कपोकोलाइभ मात्र आधिकारिक रूपमा दर्ता छन् । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स, युट्युब लगायतका प्लेटफर्मबाट भने सहज रूपमा विवरण वा टेकडाउन सहयोग नआउने समस्या रहेको उनले बताए।

