शेखर गोल्छा पक्राउ

 काठमाडौं । उद्योगी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गोल्छालाई आज काठमाडौंबाट पक्राउ गरेको हो ।

उहाँ (शेखर गोल्छा)लाई विभिन्न कसूरमा अनुसन्धान गर्नु पर्ने भएकाले पक्राउ गरिएको हो,सीआईबीका प्रमुख एआईजी मनोज केसीले बाह्रखरीसँग भने ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतको आधारमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ गरिएको ब्युरोले प्रस्ट पारेको छ ।

काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिई गोल्छालाई आज नक्सालबाट पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको ब्युरोले बताएको छ ।