खानेपानीका तत्कालीन कार्यालय प्रमुखलाई डेढ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर किशोरीप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सार्वजनिक सेवाको पदमा रहँदा भ्रष्टाचार गरेको आरोप लागेको छ। यादव सार्वजनिक पदमा नियुक्ति भएको मिति २०४७ असार ३१ गतेदेखि २०८० पुस २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गर्दा १ करोड ४६ लाख ८१ हजार २२५ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोगपत्रमा उल्लेख छ।
उनी र उनको एकाघर परिवार संगोलमा रहेका व्यक्तिहरूले यो अवधिमा विभिन्न आयस्रोतहरुबाट कानूनी रूपमा आर्जन गरेका वैधानिक आय तीन करोड ४६७ लाख २१ हजार ४०१ रुपैयाँ देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी यो अवधिमा निजको जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन खरिद, अध्ययन खर्च, ऋण सापटी, बैंक मौज्दात गरी जम्मा चार करोड ९३ लाख दुई हजार ६२६ रुपैयाँ कुल व्यय देखिएको छ।
समग्रमा कुल आयभन्दा बढी देखिएको कुल व्ययतर्फको स्रोत नखुलेको एक करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ बिगो रकम कायम गरी निजको श्रीमती निर्मला कुमारीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
