स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य बीमालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित पुनर्संरचना गरिने बताए ।
सेवाग्राहीले सहज, गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा पाउने गरी कार्यक्रमलाई सुधार गर्नुपर्ने माग उठाइरहेका छन् । हालको स्वास्थ्य बीमा कार्यक्रममा सेवा प्रवाह प्रभावकारी नभएको, अस्पतालहरूले बिरामीलाई आवश्यक सेवा दिन आनाकानी गर्ने, औषधि अभाव रहने तथा दाबी भुक्तानी ढिलो हुनेलगायत गुनासो बढिरहेका छन्।
कतिपय नागरिकले बीमा शुल्क तिरे पनि अपेक्षित सेवा नपाएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागु गर्दै आवश्यक जनशक्ति औषधि उपकरण र पूर्वाधार सहितको एकीकृत सेवा मोडल कार्यान्वयन गर्ने सरकारले नीति लिएको छ।
‘स्वास्थ्य सेवालाई लागत प्रभावकारी र नागरिक मैत्री बनाउने गरी स्थानीय तहमा आधारभूत अस्पताल सम्मको पहुँच सुनिश्चित गरिनेछ,’ पौडेलले भने ।
