आईसीसी विश्वकप लिग-२: स्कटल्याण्डमाथि शानदार जित निकाल्दै पाँचौँ स्थानमा उक्लियो नेपाल
काठमाडौं। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्याण्डविरुद्ध ६ विकेटको शानदार जित निकालेको छ।यो जितसँगै नेपाल लिग–२ को पाँचौँ स्थानमा उक्लिएको छ। नेपालले समान २२ अंक बनाएको नामिबियालाई नेट रन रेटका आधारमा पछाडि पारेको हो। २२ अंक जोडेको नेपालले २७ खेलमा १० जित र १५ हार व्यहोरेको छ भने दुई खेल रद्द भएका थिए।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा स्कटल्याण्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कप्तान रोहित पौडेल र इशान पाण्डेले अर्धशतकीय पारी खेले। कप्तान रोहितले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ७४ रन बनाए।
त्यस्तै, ६१ बल खेलेका इशानले ५ चौका र २ छक्काको मद्दतमा ५५ रन जोडे । उनले दोस्रो विकेटका लागि ओपनर कुशल भुर्तेलसँग १०४ रनको शतकीय साझेदारी गरेका थिए । ओपनर आशिफ शेखले २९ रन बनाउँदा कुशल भुर्तेलले २८ रनको योगदान दिए । यी दुईले पहिलो विकेटका लागि ५८ रनको अर्धशतकीय साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । स्कटल्याण्डका मार्क वाटले २ र ब्रान्डन म्याकमुलेनले १ विकेट लिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ३९.१ ओभरमा सबै विकेट गुमाएर १९४ रन बनाएको थियो । स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलेनले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै आक्रामक ७३ रन बनाए । उनले तेस्रो विकेटका लागि कप्तान रिचि बेरिंगटनसँग ४२ रनको साझेदारी गरेका थिए।
त्यस्तै, माइकल इंग्लिसले ७१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित ५१ रनको योगदान दिए। ओपनर जर्ज मुन्सीले २१, मार्क वाटले २० र कप्तान रिचि बेरिंगटनले १२ रन बनाए। नेपालका लागि बलिङतर्फ ललित राजवंशीले घातक बलिङ गर्दै ४ विकेट लिए। सन्दीप लामिछानेले ३ विकेट झारे भने सोमपाल कामी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीको भागमा समान १–१ विकेट रह्यो।
यो खेलमा पराजित भए पनि स्कटल्याण्ड ३८ अंकका साथ तालिकाको शीर्ष स्थानमा कायम छ। स्कटल्याण्डले ३१ खेलमा १६ जित र ९ हार व्यहोरेको छ भने उसका ६ खेल रद्द भएका छन्।
