इरानमा पक्राउ परेका अमृत झा थुनामै,मन्त्री खनालको बचाउ गर्दै परराष्ट्रले माग्यो माफी
काठमाडौं। परराष्ट्र मन्त्रालयले इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहाइ भएको भन्दै मन्त्री शिशिर खनालले सार्वजनिक गरेको अभिव्यक्तिप्रति माफी मागेको छ।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै इरानको स्थानीय अदालतमा झाविरुद्धको मुद्दा विचाराधीन रहेको र उनी रिहा भएको भन्दै यसअघि परराष्ट्रमन्त्री खनालले सार्वजनिक गरेको अभिव्यक्तिप्रति माफी मागेको हो।
मन्त्रालयले १५ अप्रिलमा इरानका लागि नेपाली अनररी कन्सल साहराम सान्तिएले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झाको रिहाइबारे जानकारी प्राप्त भएको र उनी रिहा भएको खबर पठाएको जनाएको छ।
त्यसैलाई आधार मानेर सम्बन्धित महाशाखा प्रमुखबाट परराष्ट्रमन्त्री खनाल र सचिव अमृतबहादुर राईलाई जानकारी गराइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले झाको परिवारलाई समेत उक्त जानकारी गराएको थियो ।
सोही दिन मन्त्रालयले झा रिहा भएको अनौपचारिक जानकारी प्राप्त भएको भन्दै विज्ञप्ति जारी गरेको थियो । उक्त जानकारीकै आधारमा परराष्ट्रमन्त्रीले आफ्नो सामाजिक सञ्जालबाट पनि यो विषय सार्वजनिक गरेको मन्त्रालयको जिकिर छ । त्यसको एक महिनापछि मन्त्रालयले माफी मागेको हो ।
झालाई नेपाल फिर्ता ल्याउने प्रक्रिया पूरा गर्ने प्रयोजनका लागि नेपाली राजदूतावास, दोहालाई मन्त्रालयले लिखित प्रमाण उपलब्ध गराउन निर्देशन दिएको थियो । तर, केही दिनपछि मन्त्रालयले झा रिहा नभएको जानकारी पाएको थियो।
इरानको क्वेसहम् टापुमा अवैध सामान तस्करी एवम् ओसारपसारको आरोपमा झा पक्राउ परेको र उनी बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेको मन्त्रालयले जानकारी दिएको छ। इरानी अदालतले झाको मुद्दामा विज्ञको प्रतिवेदन तयार गर्न आदेश दिएको छ।
मन्त्रालयका अनुसार विज्ञ प्रतिवेदनका लागि गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने क्रममा रहेको छ। विचाराधीन मुद्दाको निरूपण इरानको कानुनअनुसार हुने भएकोले उपलब्ध सबै माध्यमको प्रयोग गरी निष्पक्ष सुनुवाइलगायतका लागि निरन्तर कूटनीतिक पहल जारी रहेको मन्त्रालयले जनाएको छ।
