प्रस्तावित प्रधानन्यायाधीश विरुद्धको संसदीय सुनुवाइ प्रक्रिया सुरु
काठमाडौं । प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सर्वोच्च अदालतका न्यायाधीश डा।मनोजकुमार शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।
संसदीय सुनुवाइ समितिको मङ्गलवारको बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध प्राप्त उजुरीहरूका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाएको हो। बैठकमा समिति सदस्यहरूलाई सम्बोधन गर्दै समिति सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा। शर्माविरुद्ध प्राप्त उजुरीहरूको व्यवस्थापन र वितरणका सम्बन्धमा जानकारी दिए ।
प्राप्त उजुरीहरूमध्ये केही इमेलमार्फत र केही खामबन्दी अवस्थामा रहेका छन् । ‘गोप्य’ भनी वर्गीकरण गरिएका उजुरीहरूको गोपनीयता कायम राख्न उजुरीकर्ताको नाम हटाएर (कोडिङ गरेर) मात्र सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिइएको छ । साथै, समितिले यी उजुरीहरूको संवेदनशीलतालाई ध्यानमा राख्दै गोपनीयता कायम गरिदिन सांसद र सञ्चारकर्मीहरूलाई समेत आग्रह गरे ।
संसदीय सुनुवाइ समितिको कार्यविधि २०८३ को दफा १९ बमोजिम प्रस्तावित प्रधानन्यायाधीश डा। शर्माले समिति समक्ष आफ्नो कार्ययोजना पेश गरेका छन् । उक्त कार्ययोजनाको विवरण समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको छ । सदस्यहरूको मागअनुसार कार्ययोजनाको विद्युतीय प्रति समेत उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिइएको छ।
सुनुवाइ प्रक्रियालाई व्यवस्थित बनाउन समितिले आगामी कार्यदिशा समेत तय गरेको छ। जसअन्तर्गत उजुरीहरूका सम्बन्धमा छलफल गर्ने, उजुरीकर्तालाई समितिमा उपस्थित गराउने र प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी सुनुवाइ सम्पन्न गर्ने लगायतका विषयमा सम्भावित कार्ययोजना तयार पारिएको छ ।
सचिवालयद्वारा प्रस्तावित उक्त कार्ययोजनामाथि सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । प्रस्तावित प्रधानन्यायाधीशको योग्यता, क्षमता र भावी योजनाका सम्बन्धमा विस्तृत छलफल गरी समितिले उनको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय लिनेछ ।
