बैंकिङ कसुर मुद्दामा कांग्रेस डोल्पाका उपसभापति पक्राउ
काठमाडौं । नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ परेका छन् । बैङ्किङ कसुर मुद्दाका फरार शाही मङ्गलवार त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी गराएको हो।
नेपाल सरकारको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी शाही भएको बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७९ कात्तिक ६ गते अन्तिम फैसला गर्दै शाहीलाई १ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो।
फैसलापश्चात फरार रहेका शाहीलाई प्रहरीले खोजतलास गर्ने क्रममा २०८३ जेठ ४ गते बिहान ९ः३० त्रिपुराकोटबाट पक्राउ गरिएको हो।
डोल्पा जगदुल्ला गाउँपालिका-२ निवासी कांग्रेस जिल्ला उपसभापति शाहीलाई कैद तथा जरिवाना असुलउपरका लागि जिल्ला अदालतमा बुझाइएको छ। जिल्ला अदालत डोल्पामा पनि शाही विरुद्ध दस लाखको बैङ्किङ कसुर मुद्दा छ। उनी विरुद्ध मुड्केचुला गाउँपालिका-१ का लंकबहादुर रोकायाले गत वर्षको मङ्सिरमा उजुरी दर्ता गराएका छन्।
