पोखराको न्युरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउन सुरु
काठमाडौं। पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रका फुटपाथ ९सडकपेटी० मा हुने अनधिकृत पार्किङ हटाउने अभियानलाई तीव्रता दिएको छ।
महानगरको वडा नम्बर ८ र ९ अन्तर्गत पर्ने न्यूरोड क्षेत्रमा पैदलयात्रीको सहजताका लागि सडकपेटी खाली गराउन थालिएको हो। नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाकाअनुसार फुटपाथ पैदलयात्रीका लागि मात्र भएकाले त्यहाँ सवारी साधन पार्किङ गर्दा आवागमनमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढ्ने हुँदा यो कदम चालिएको हो।
उनले महानगरपालिकाले तोकेका निश्चित स्थानहरूमा मात्र पार्किङ गर्न र अन्य क्षेत्रमा सवारी धनी स्वयंले व्यवस्थापन गर्नुपर्ने बताए । महानगरले यो अभियान सुरु गर्नुअघि गत शुक्रवारदेखि आइतवारसम्म तीन दिन लगातार माइकिङ गरी नगरबासीलाई यसबारे जानकारी गराएको थियो। सूचनाको अवज्ञा गर्ने सवारी साधनमाथि आजदेखि कारबाही सुरु गरिएको छ। सोमवार मात्रै फुटपाथमा पार्किङ गरिएका ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको नगर प्रहरीले जनाएको छ।
उनले भने, ‘फुटपाथ बाइक राख्ने ठाउँ होइन, यो पैदलयात्रीका लागि बनाइएको हो । महानगरले न्यूरोडका केही स्थानमा पार्किङको व्यवस्था गरेको छ, त्यहीँ पार्किङ गर्नुपर्छ । दीर्घकालीन पार्किङको व्यवस्था नभएसम्म फुटपाथलाई भने पूर्ण रूपमा खाली राखिनेछ ।’
नगर प्रहरी निरीक्षक थापाले मङ्गलवारदेखि थप कडाइ गरिने बताए । अबका दिनमा फुटपाथमा पार्किङ गरिएको पाइएमा सवारी धनीलाई तत्काल सवारी साधन नबुझाइने र ती साधन नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय पठाई नियमानुसार कडा कारबाही गरिने उनको भनाइ छ ।
महानगरले सडकपेटी खाली गराई सडकमा हुने चाप र सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउन सम्पूर्ण सवारी धनी तथा नगरबासीलाई आग्रह गरेको छ ।
