नेपाल इन्जिनियरिङ कलेज र भायोनेट विच एमओयू

काठमाडौं । भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज र भायोनेट कम्युनिकेशन लिमिटेड विच दुरसञ्चार, आइटी विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई शिक्षा र उद्योगलाई जोड्न समझदारी (एमओयू) भएको छ ।

मुनाफारहित सामाजिक संस्थाका रुपमा सञ्चालित कलेजले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको क्षमता विकास गर्दै उनीहरुलाई उद्योग र व्यवसायसँग नजिक गराउनु उद्देश्यले नेपालको अग्रणी इन्टरनेट प्रदायक संस्था भायोनेट कम्युनिकेशनसँग एमओयू गरेको हो।

एमओयू पत्रमा कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी तथा कम्प्युटर इन्जिनियरिङ विभागका सहायक प्राध्यापक कृष्ण विक्रम शाह भायोनेट कम्युनिकेशनकी कर्पोरेट सेल्स मेनेजर रञ्जु लामाले हस्ताक्षर गर्नुभएको छ ।

एमओयूमा नेपाल इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुको सीप, उद्योगको सम्पर्क र रोजगारी बढाउने लक्ष्य लिइएको छ। जस अनुसार विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी बनाउँदै उनीहरुलाई रोजगार बनाउन विशेष तालिम सञ्चालन गर्ने, दुरसञ्चार र आइटी क्षेत्रमा करियर प्लेसमेन्टहरु गरिने भनिएको छ।

कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले भायोनेटसँगको साझेदारीले शिक्षा र उद्योग विचको खाडललाई कम गर्ने, विश्वब्यापी शिक्षाको अनुभव गर्ने तथा भविष्यका लागि बलियो सीपयुक्त जनशक्ति तयार गर्न टेवा पुग्ने बताउनु भयो।

विद्यार्थीको सिकाईलाई अझ प्रभावकारी बनाउन र विद्यार्थी जीवनबाटै उद्योग र व्यवसायीक क्षेत्रको अनुभव हासिल गराउन कलेजले विभिन्न व्यवसायिक संस्था र उद्योगहरुविच सहकार्य गर्दै आइरहेको छ ।

पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विधाका विभिन्न विषयहरुमा स्नातक तथा स्नातकोत्तर तहसम्मको पढाई हुने गरेको छ ।