बाजुरा र हुम्ला झडप प्रकरण: छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न मेयर हमालको माग

काठमाडौं। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बाजुराको हिमाली गाउँपालिकास्थित लाम्पाटामा भएको झडपको घटनालाई लिएर उच्चस्तरीय छानबिन समितिको माग गरेका छन्।

बुधबार एक भिडिओ राख्दै मेयर हमालले आफ्नो टोलीले ड्रोन उडाएका कारण झडप भएको भन्ने प्रहरी प्रशासनको दाबीलाई ‘हास्यास्पद’ भन्दै खण्डन गरेका हुन्।

मेयर हमालले घटनामा आफ्नो टोलीको कुनै संलग्नता नरहेको र झडप आफ्नो टोली पुग्नुभन्दा तीन दिनअघि नै सुरु भइसकेको बताए।

‘ड्रोन उडाएका कारण घटना घट्यो भन्नु सरासर गलत र भ्रामक सूचना हो,उनले भने,प्रहरी प्रशासनले दिइरहेको यो सूचना या त गलत छ, या उनीहरूले नियतवश नै तथ्यलाई तोडमोड गरिरहेका छन्।

मेयर हमालका अनुसार उक्त क्षेत्रमा जेठ २ गते नै विवाद सुरु भई हिमाली-३ का वडा सदस्य पेमा गारा गुरुङमाथि कुटपिट भएको थियो। गुरुङलाई घाइते अवस्थामा उपचारका लागि समेत जान नदिई घर र रासन कब्जा गरेर राखिएको हमालको भनाइ छ।

‘हामी त जेठ ५ गते मात्र त्यहाँ पुगेका हौं, तर हामी पुग्नुअघि नै हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा र अन्य कर्मचारीमाथि आक्रमण भइसकेको थियो,मेयर हमालले सुनाए।

बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटा र हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली क्षेत्रको सीमा विवाद तथा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर मंगलबार दुई पक्षबीच झडप भएको थियो।

झडपमा ६ जना घाइते भएका थिए, जसमध्ये वडा सदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीनू कुँवर र नरबहादुर गुरुङलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ।

बाजुरा प्रहरीले भने यसअघि नै साम्य भइसकेको विवाद मेयर हमालको टोलीले ड्रोन उडाएर भिडिओ खिच्न थालेपछि पुनः चर्किएको दाबी गर्दै आएको छ। तर मेयर हमालले यसलाई प्रशासनको कमजोरी लुकाउने प्रयासको रूपमा अर्थ्याएका छन्।

‘हाम्रो टोली ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत रानीसैन क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि त्यहाँ गएको हो, हाम्रो उद्देश्य पवित्र थियो,’ उनले थपे।

मेयर हमालले घटनाका क्रममा पत्रकारहरूमाथि समेत दुर्व्यवहार भएको र उनीहरूको ड्रोन तथा क्यामरा खोसिएको जानकारी दिए। उनले भने, ‘पत्रकारलाई समाचार संकलन गर्न दिइएन, ड्रोन फुटालियो र प्रहरीकै लुगासमेत च्यातिएको अवस्था थियो। यस्तो गम्भीर घटनालाई सामान्यीकरण गर्न ड्रोनको बहाना बनाइनु खेदजनक छ।

झडपमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापा र प्रहरी सहायक हवल्दार महेश धामीसमेत घाइते भएका छन्। हुम्लाको खार्पुनाथ र सर्केगाड गाउँपालिकाका करिब डेढ सय स्थानीयको समूहले रानीसैनतर्फ जाँदै गरेको टोलीमाथि आक्रमण गरेको बताइएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरी लाम्पाटामा प्रहरी चौकी बनाउन लागेपछि हुम्लाका स्थानीयले सो भूमि आफ्नो भएको दाबी गर्दै निर्माणमा अवरोध गर्दै आएका छन्।

मेयर हमालले घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै यदि ड्रोन उडाएकै कारण झडप भएको पुष्टि भए आफू सजाय भोग्न तयार रहेको चुनौती दिएका छन्।