सुदूरपश्चिम र लुम्बिनीमा गर्मी झन् बढ्ने, घर बाहिर ननिस्किन सुझाव
काठमाडौं । सुदूरपश्चिम र लुम्बिनीका जिल्लाहरूमा आगामी दिनमा गर्मी झन् बढी हुने पूर्वानुमान गरिएको छ। गर्मीले अहिले नै जनजीवन प्रभावित भइरहेका बेला जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी दिन झन् तातो हुने पूर्वानुमान गरेको हो । त्यसैले महाशाखाले आज साँझ विशेष बुलेटिन जारी गरेर सतर्क रहन भनेको छ ।
महाशाखाका मौसमविदहरुका अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङमा अन्य जिल्लाको तुलनामा बढी गर्मी हुने भएकाले सतर्क रहन भनिएको छ ।
यसैगरी बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लामा पनि आगामी दिन गर्मी बढ्ने भएकाले त्यहाँका बासिन्दालाई पनि गर्मीको अवस्थाबारे अध्यावधिक जानकारी लिँदै सतर्क रहन भनिएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा यही जेठ ६ गतेदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ ।
देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । साथै थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएको विशेष बुलेटिनमा उल्लेख छ ।
गर्मी बढ्ने भएकाले त्यसबाट बँच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा आगामी ३ दिनसम्म मध्यम तातो लहर तथा पहाडी भू–भागमा तातो दिन हुने सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाले आज साँझ जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ ।
